महासंघको तेस्रो साधारणसभा स्थगित



हेटौंडा ।

नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको माघ ६ र ७ गतेका लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमा विमान दुर्घटनामा निधन भएकोमा नेपाल पत्रकार महासंघका उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णयसहित १३ दिनसम्म शोकसभाबाहेक औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हुँदा साधारणसभा अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको महासंघ प्रदेश महासचिव कृष्ण सारुमगरले बताउनुभयो ।

आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटीआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा पौडेलको निधन भएको थियो । पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको र महासंघले उदीयमान पत्रकार नेता गुमाएको मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त जहाजमा सवार पोखराबाट सञ्चालित रेडियो एपोस्टल १०२.६ का प्रवन्धक अनिल शाहीको पनि निधन भएको छ । नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिले पौडेल र शाहीसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै समवेदना व्यक्त गरिएको छ ।

‘सुझाव कार्यान्वयनको समीक्षा गरौं’

आइतबारका पोखरा महानगरपालिका–१५, नयाँगाउँस्थित सेती नदीको खोंचमा दुर्घटना हुँदा विमानमा सवार ४ चालकदलसहित ७२ जनामध्ये हालसम्म ६९ जनाको निधन भएको खबरले दुःखी भएको वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनाउनुभएको छ ।

यस किसिमको नेपाली आकाशमा आन्तरिक उडानतर्फ सबभन्दा ठूलो मानवीय क्षतिसहित विमान दुर्घटनाको दुःखद् खबरले देश शोकमा पुगेको भन्दै उहाँले दुर्घटनामा ज्यान गुमाउने विदेशी पाहुना एवम् नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकको घडीमा शोकाकुल परिवार र आफन्तमा प्रदेश सरकारका तर्फबाट समवेदना व्यक्त गर्नुभएका छ ।

यस किसिमको बढ्दो हवाई दुर्घटनाले विगतमा दुर्घटना हुँदा गठन भएका छानबिन आयोगहरुका प्रतिवेदनले हवाई यात्रालाई सुरक्षित एवम् भरपर्दो बनाउन दिएका सुझावहरु के-कति कार्यान्वयन गरिए भन्ने समीक्षा गर्नुपर्ने महसुस गराएको उहाँले जनाउनुभएको छ ।

यस सम्बन्धमा नेपाल सरकारले गहनरुपमा अध्ययन गरी नेपालको हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीतिगत् सुधार तथा योजनाहरु अघि बढाउनेमा उहाँको विश्वास छ । बढ्दो हवाई दुर्घटना न्यूनीकरणका लागि नागरिक उड्डयन प्राधिकरण, हवाई सेवाप्रदायक कम्पनी, नियामक निकायहरु, स्थानीय प्रशासन, सुरक्षा निकायलाई संवेदनशील र जिम्मेवार भइ लाग्न प्रदेश सरकारले अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्