कौला छे मा ‘बुहारीहरु’को सफलता

188
Shares

काभ्रे।

पनौती नगरपालिका वडा नम्बर ७ पमाडी टोलमा एक वर्ष अघि सुरु गरिएको पन्ति कम्युनिटी कौला छे अर्थात् पनौती सामुदायिक खाजा घरमा बुहारीहरुले सफलता प्राप्त गरेका छन् । खाजा घर सुरु गर्दा चार जना बुहारीहरुले डेढ/डेढ लाख रुपैयाँ ऋण गरेका थिए । एक वर्षको अवधिमा ऋण तिरेर खाजाको विस्तारका लागि थप १० लाख भन्दा धेरै लगानी गरिसकेका छन् ।

‘शुरुमा हामी आफै यो व्यवसायमा अनभिज्ञ मात्रै थिएनौँ, बुहारीहरुले सुरु गरेको खाजा घरमा ग्राहक आउने हो होइन चिन्तामा पनि थियौँ’– सञ्चालक रमा फाक्षि श्रेष्ठले भन्नुभयो–‘पनौतीको पुरानो घर भाडामा लिएर सुरु गरिएको खाजा घरमा ग्राहक र गुणस्तर दुवैको चिन्ता एक वर्षको अवधिमा पूर्ण रुपमा अन्त्य भयो ।’ पन्ति कम्युनिटी कौला छेका लागि रमा फाछि श्रेष्ठ, सरिता अमात्य, रुपा अमात्य र दिव्या श्रेष्ठ सञ्चालक हुनुहुन्छ । उहाँहरु आफै भान्सादेखि जुठो भाँडा माझ्न ब्यस्त हुनुहुन्छ । उहाँहरुले मात्रै नपुगेर सहयोगीका रुपमा थप दुई जना राखिएको छ । पनौतीमा लाग्ने १२ वर्षे मकर मेला, हरेक वर्ष लाग्ने ज्येष्ठ पूर्णिमा जात्रा तथा अन्य पर्वहरुमा पनौती आउने व्यक्तिहरूका लागि मात्रै नभई पनौतीका स्थानीयहरुका लागि समेत पन्ति कम्युनिटी कौला छे आर्कषक बन्दै गएको छ ।

 

नेवारी परिकार २५ थरी भन्दा धेरै खान पाइने खाजा घर शुरुमा दुई तल्लामा सीमित थियो । अहिले चार तल्लामा विस्तार भएको छ । एकै पटक एक सय भन्दा धेरै जनालाई खाजा खुवाउन सकिने गरी खाजा घरको विस्तार गरिएको सञ्चालक रुपा अमात्यले बताउनु भयो । ‘पुरानो घरमा कोही बस्दैन थियो, ताला लगाइएको घरलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याएका थियौँ’– सञ्चालक सरिता अमात्यले भन्नुभयो–‘पनौतीका पुराना घरहरुको संरक्षणसँगै लोप हुँदै गएका नेवारी परिकारहरु समेत खाजा घरमा उपलब्ध गराएका छौँ । यसले ग्राहकहरुको मन जित्न सफल भएका छौँ ।’

खाजा घरले एक वर्ष पुरा गरेको अवसरमा स्थानीय १ सय १ वर्षीय रामलाल कर्माचार्य, ९२ बर्षिया जुनुमाया सोनामलाई सम्मान गरिएको थियो भने बुहारीहरुले घर भित्र बसेर भन्दा बाहिर निस्किएर समुदाय र नगरपालिकाकै इज्जत बढाउन सहयोग पु¥याएकोमा संचालकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सहयोगीहरू राम थापा मगर र ज्योति श्रेष्ठलाई सम्मान गरिएको थियो । खाजा घरलाई विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगीहरूलाई पनि मायाको चिनो मार्फत सम्मान गरिएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगरपालिकाको प्राचीन इतिहासलाई जोगाउन खाजा घरले थप सहयोग पुग्ने बताउनु भयो । नगरपालिकाले विश्व सम्पदा सूचिमा प्रस्तावित गरिएको पनौती नगरपालिकाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसार गरिने बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष सविन ताम्राकार, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेश सुन्दर सैजु, पनौती होम स्टे अध्यक्ष शिला अमात्य, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतिराम तिमल्सिना, सञ्चालक रमा फाछि श्रेष्ठ, सरिता अमात्य, स्थानीय समाजसेवी गीता तिमल्सिना दाहाल लगायतले पनौती नगरपालिका चिनाउन पन्ति कम्युनिटी कौला छेले पु¥याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । बुहारीहरुले प्राप्त गरेको सफलता अन्य क्षेत्रका लागि उदाहरणीय हुन सक्ने सहभागीहरूले बताएका छन् ।