वित्तीय संस्थासहित बचतकर्ता मारमा



दुई वर्षअघिसम्म बैंकहरुले यो वर्षमा यति नाफा कमाएको भनेर पत्रकार सम्मेलन गर्थे । शेयर होल्डरहरुलाई बोनस र कर्मचारीको तलब पनि नाफासँगै बढ्थ्यो । तर, अहिले बैंकले शेयर होल्डरलाई नाफा दिन छोडिसकेका छन् ।

यता, कर्मचारीको तलब बढ्न पनि ठप्प भएको छ । आफ्नो बैंकमा नाफा नभएको उल्लेख गर्दै लाभांश दिन छोडिएको छ । पछिल्लो समय बैंकहरुलाई कर्मचारीलाई तलब दिनसमेत हम्मेहम्मे परेको छ ।तलब बढाउनु त अकल्पनीय कुरा हो । बैंक धराशायी बन्नुको मुख्य कारण ऋणीहरु हुन् । व्यवसायीहरुले बैंकबाट कर्जा लिए तर फिर्ता दिएनन् ।

बरु, राजनीतिक दलको झोला बोक्ने अनि आन्दोलनमा उत्रिने । यस्तो पाराले बैंकिङ क्षेत्र चल्छ ? कर्जा लिएपछि तिर्नु सबैको दायित्व हो । व्यवसायीहरुले इमानदारिताका साथ कर्जा चुक्ता गर्नुपथ्र्यो । तर, उनीहरुले त्यसो गर्न चाहेनन् । बैंक डुबाउने षड्यन्त्र बुनेका व्यवसायीहरु बिस्तारै सफल हुँदै छन् । यता, बैंक भने सखाप हुने अवस्थामा पुगेका छन् ।

बैंकमा पैसा नभएर सञ्चालकहरु तनावमा आइसकेका छन् । ब्याज बढाएको बढायै छन् तर राखिदिने कोही छैनन् । मुद्दती खातामा १८ प्रतिशतसम्म ब्याज दिन्छौं भनेर उनीहरुले सर्वसाधारणबाट पैसा उठाउन खोजिरहेका छन् । तर, यसले पनि कुनै फरक परेको छैन । बचतकर्ताको बैंकमा लाइन छ । आफ्नो पैसा निकाल्न बैंकमा दौडधुप गरिरहेका छन् । तर, बैंकसँग फिर्ता गर्ने पैसा छैन । बचतकर्ताले आफ्नो पैसा डुब्ने संकेत पाइसकेका छन् । यद्यपि बैंकले विभिन्न बहाना बनाएर बचतकर्तालाई टारिरहेको छ ।

एकैचोटि धेरै पैसा दिन नसक्ने बताउँदै बैंकहरुले थोरैथोरै दिएर काम चलाइरहेको छ । बचतकर्ताले ब्याज खानका लागि बैंकमा लगेर पैसा राखे । त्यही पैसा बैंकले विभिन्न व्यवसायमा लगानी ग¥यो । घूस खाएर, बढी सेवाशुल्क र महँगो ब्याजको प्रलोभनमा परेर बैंकले आँखा चिम्लेर लगानी गरेको थियो । तर, अहिले परिस्थिति नै फेरिएको छ । हामी ऋण तिर्दैनौं भनेर ऋणीहरुले हात उठाइसकेका छन् । उनीहरु निरन्तर आन्दोलनमा छन् । टाउकोमा कालोपट्टी बाँधेर ऋणीहरुले आफ्नो ऋण नै ‘डिसमिस’ पार्न खोजेका छन् ।

तर, पैसा राख्ने बचतकर्ताचाँहि कहाँ जाने ? कसको सामु गएर हारगुहार गर्ने ? अर्थमन्त्री पौडेल गुहार्ने कि गर्भनर महाप्रसाद अधिकारी । बचतकर्ताको बिचल्ली हुने निश्चित छ । सडकमा आऊँ भने संघसंगठन छैन । बचतकर्ताहरु घर न घाटको अवस्थामा पुग्ने देखिएको छ । न उनीहरुले आफ्नो बचत फिर्ता पाउँछन्, न आन्दोलन नै गर्न सक्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीले जनता सोत्तर पार्ने भए । सरकारले एकलौटी कुरा सुनेर निर्णय गर्न मिल्छ ? व्यवसायी बचाउन खोज्दा बंैंक र जनताको उठीबास हुन्छ भनेर सोच्नुपर्दैन ?

दुई वर्षअगाडि एक कित्ता शेयरको मूल्य ३२ सयसम्म पुगेको थियो । अहिले घटेर त्यही शेयर १८ सयमा झरेको छ । त्यतिखेर बैंकले ३२ सयको शेयर धितो राखेर २५ सय रुपैयाँ कर्जा दियो । कर्जावालले जम्मा सात सय रुपैयाँ लगानी गरेका थिए । तर, अहिले त्यही शेयरको मूल्य घटेर १८ सयमा आउँदा बैंक त चुर्लुम्मै हुने देखिएको छ ।

यता, बैंकको कर्जा बढेर ३५ सय रुपैयाँ पुगिसकेको छ । अब बैंकले के गर्ने ? शेयर लिलाम गर्दा पनि बैंकको सावाँब्याज उठ्दैन । जसले शेयर धितो राखेर कर्जा लियो उसले थप धितो दिँदैन । यता, कर्जा पनि घटाउँदैन । बरु, मैले तिर्न सकिन, धितो लिलाम गर्नुस् भन्छन् । शेयरमा सबैभन्दा धेरै लगानी गर्ने नबिल बैंक हो । नबिल बैंकको अवस्था नाजुक भइसकेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन् । जग्गा पनि त्यही नै भएको छ । दुई वर्षअघि ठाउँ हेरेर आनाको ४० देखि ९० लाखसम्म खरिदबिक्री हुन्थ्यो ।

९० लाखको जग्गामा बैंकको लगानी ६०–७० लाख थियो । तर, पहिले ९० लाखमा किनेको जग्गा अहिले आधा मूल्यमा पनि बिक्री हुँदैन । किन्ने मान्छे सामसुम छ । ७० लाखको कर्जा बढेर एक करोड २० लाख पुगिसकेको छ । तर, ९० लाखको जग्गा घटेर ४५ लाखमा आएको छ । ३० लाखको गाडीमा बैंकले २२ लाखसम्म लगानी ग¥यो । त्यो २२ लाखको कर्जा नतिरेर ३० लाख पुग्यो । ३० लाखको गाडीको मूल्य घटेर १५ लाखमा आयो । वित्तीय संस्था नराम्ररी डुब्नुको प्रमुख कारण यही हो ।

हिजो बजार भाउ बढेको बेला बैंकले सोच्दै नसोची ह्वात्तै लगानी ग¥यो । अहिले त्यसमा निरन्तर गिरावट आइरहेको छ । हिजो बैंकबाट कर्जा लिएर घर बनाएका, गाडी र जग्गा किनेकाहरु पनि तनावमा परेका छन् । उनीहरुले बढ्दो बजार भाउ देखे । तर त्यो जति बेला पनि कायापलट हुन्छ भन्नेतिर कसैको ध्यान नै गएन । बजारमा मन्दी आउन सक्छ, हामी डुब्न सक्छौं भनेर कसैले सोचेनन् । बैंकले एक सय रुपैयाँ कित्ता निकास गरेको शेयरलाई ३२ सयमा आँखा चिम्लेर खरिद गरे । सरकारको रेट आनाको एक लाख भएको जग्गा ५० लाख हालेर किने । जग्गा दलाली र बिचौलियाले जग्गाको मूल्यमा उछाल ल्याएका थिए । पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट बनेको गाडीमा लाखौं रुपैयाँ लगानी गरेका छन् ।

वित्तीय संस्थाहरुले भोलि बजार भाउमा गिरावट आउँछ भनेर सोचेनन् । ब्याजको प्रलोभनमा परेर यी संस्थाले आँखा चिम्लेर लगानी गरे । ऋणीले हिजो झ्यापझ्यापी कर्जा लिए । बैंक फाइनान्सकै पैसामा जग्गा किनेर घर बनाए । त्यही पैसाबाट गाडी किने । आफ्नो यति लाख कित्ता शेयर छ भनेर आफन्तमा धाक लगाए । तर, त्यो सबै बैंकको नाममा छ भनेर उनीहरुले सोचेनन् । छिमेकी, आफन्तहरुले उसको घर, गाडी र शेयर बैंकमा रोक्का छ भनेर थाहा पाएनन् ।

एक वर्षअघिसम्म आफ्नो घर छ भनेर धाक लगाउनेहरुलाई यतिखेर कहाँ जाऊँ भइरहेको छ । कतिपय घर नै छोडेर भागेका छन् । पत्रिकामा तीन पुस्ताको नाम निकालेपछि कतिलाई कहाँ जाऊ ? भइरहेको छ । बैंकले घरको गेटमा ल्याएर चिठी टाँसेका छन् । बैंकको ऋण चुक्ता गर्न नसकेर कतिपय भागेका छन् त कतिपय सम्पर्कविहीन भए । कार चढेर हिँड्नेहरु ट्याम्पो र सार्वजनिक यातायातमा देखिन्छन् । कार बैंकले तानेर लगेपछि विकल्प यही नै रह्यो ।

मेरो शेयर बेच्दा एक लाख आउँछ भन्नेहरु झरेर हजारमा आइपुगेका छन् । बजारलाई पूरै मन्दीले ढाकेको छ । बजारमा मन्दी आउनुको कारण बैंक फाइनान्सले हचुवाको भरमा लगानी गर्नु हो । बैंकले जथाभावी लगानी गर्दा धेरैको उठीबास लाग्ने भयो । हिजो बैंकमा पैसा राख्नेको ओइरो हुन्थ्यो । जसका कारण बैंकले जस्तो पनि ठाउँमा लगानी ग¥यो । अहिले बैंक फाइनान्सले कर्जा उठाउन सकेका छैनन् । यता, कर्जा लिनेहरु पनि भाग्ने अवस्थामा पुगे । सरकारले पहिल्यै नीति बनाएको भए आज कोही पनि डुब्दैनथे ।

पैसा कहाँ कति लगानी गर्ने भनेर सरकारले पहिले नै मापदण्ड बनाइदिनुपथ्र्यो । राष्ट्र बैंक र सहकारी विभाग जिम्मेवार हुन सकेनन् । सरकारले हिजो छाडा छोडिदियो । जे गरे पनि छुट भन्न थाल्यो सरकार । बैंकबाट कर्जा लिएकै पैसाबाट उद्योग व्यवसायीहरु पुँजीपति बनेका हुन् । बैंकले कर्जा दिएको पैसाबाट लगानी गरेर यिनीहरुले नाफा कमाए ।

अकुत सम्पत्ति जोडे । अनि आज बजारमा मन्दी छाए पनि हामी ऋण नै तिर्दैनौं भन्न मिल्छ ? घरजग्गा, शेयर र गाडी बेच्दा आएको नाफा यिनीहरुले बैंकलाई दिएका थिए र ? तर, बजारमा मूल्य घट्नेबित्तिकै व्यवसायीहरु धितो छोड्नेतिर गए । मूल्य बढेको भए धितो निखान्नतिर जान्थे । सीधै बैंक डुबाउन चलखेल रचियो । बैंक डुबेसँगै बचतकर्ता डुब्छन् । तिनको कन्तबिजोग हुन्छ ।
– मधु भट्टराई 

प्रतिक्रिया दिनुहोस्