नेपालका घाइते सहकारीहरु र सरकारको ध्यानाकर्षण



जब मुलुकमा सरकार सुस्त र सधैँ सत्ताप्राप्तिमा अल्झिरहन्छ, तब समाजमा पनि मानिसहरु अल्लारे, स्वार्थी र दुष्ट स्वभावका हुँदै जान्छन् ।

यस बेला राम्रा मानिसहरुलाई भने कष्ट हुन्छ । मैले कोट्याउन खोजेको सहकारीको अहिलेको अवस्थाको बारेमा हो । अहिले देशको एउटा समस्या सहकारी संस्थाहरुको पनि मान्न सकिन्छ । हिन्दीमा एउटा कहावत छ– ‘खाए पिए भरपेट बाँकी जाने शंकर सेठ ।’ यस भनाइको मतलब मानिसहरुले सन्तोषी हुन सिक्नुपर्दछ । तर हाम्रो मुलुकमा नेताहरुको लहैलहैमा लागेर प्रायः सहकारी संस्थाहरुले लोभलालचको असरले जनताका पैसा पचाएर हैरान गरिराखेका छन् ।

यस्तो अवस्थामा समेत जुन सरकार आए पनि ट्वाल्ल परेर हेरिबसिराखेको देखिन्छ । भगवान्ले यिनीहरुलाई यति स्वार्थ बनाइदिएका छन् कि लोकतन्त्र ल्याएर पनि समाजको यस्तो समस्या हल गर्न सकिराखेका छैनन् । विदेशमा भएको भए यस्ता गलत हर्कत गर्नेहरुलाई कडा सजाय भइसक्थ्यो होला । तर यहाँ त देश चलाउनेहरु बुझ पचाएर बसिराखेका छन्, जनतालाई सस्तोमा जीवन चलाउने र सुरक्षा दिने कुरा त परै जाओस् ।

संसारमा मानिससँग दुई किसिमको रकम हुन्छ, एउटा हो रगत–पसिना बगाएर कमाएको रकम । जसले मेहनत गरेर कमाएको रकम हुन्छ त्यो डुब्दा मानिसको मन दुख्ने गर्दछ । तर गलत प्रकारले कमाएको रकम डुबे पनि उसलाई खासै फरक पर्दैन । उसले मनमनै यही सोच्ने गर्दछ कि गलत धनको आयु धेरै समय रहँदैन, सके फेरि कमाऊँला, जेसुकै होस् । सहकारी संस्थाहरुले प्रायः सर्वसाधारणको रकम झ्वाम पार्दा रिस उठ्नु स्वाभाविक पनि हो ।

कारण यो मानिसहरुमाथि ठूलो विश्वासघात र एक हिसाबले यिनीहरुको लापरबाही, दादागिरी र गल्ती नै हो, जसले गर्दा अहिले मानिसले कष्ट भोगिराखेका छन् ।आजभोलि यसरी सहकारी संस्थाहरुले गर्ने गलत संस्कारको विकास भई पनि राखेको छ । तर यसमा मानिसको गल्ती पनि मान्न सकिन्छ, कारण धेरै ब्याजको लोभमा मानिसहरु राम्रा मानिसहरुको सुझाव नसुनेर ढिड भई यस्ता संस्थाहरुप्रति विश्वास गरिराखेका हुन्छन् ।

जसको परिणाम किन रोइस मंगले आफ्नै ढंगले भनेसरह भइराखेको छ । सहकारी संस्थामा पैसा राखेर आफ्नो पैसा डुबेपछि लडाइँ, गाली, मारकाट भई पनि राखेको हुन्छ तर कानुनलाई हात लिएर अघि बढ्न चाहँदैनन् यहाँका मानिसहरु । तर भनेर के गर्ने र ! यो देशको सरकार, कानुन, प्रशासन पनि बिल्कुलै ठीक छैन । कारण यसरी मानिसहरुको रकम पचाएर पनि यिनीहरु खुलेआम घुमिराखेका हुन्छन् । तर कानुन, प्रशासन यस्ता गलत कुकर्म गर्नेहरुलाई कडा कानुनी कारबाही गर्न सक्दैन भने के काम लाग्यो यस्ता वाहियात लोकतन्त्रको ।

वास्तवमा भन्ने हो भने, हाम्रो जस्तो मुलुकमा दुई–तीन कारणले सहकारी संस्थाहरु डुब्ने गर्दछन् । सर्वप्रथम कमजोर व्यवस्थापन, दोस्रो मिलेमतोमा जथाभावी ऋण वितरण र अर्को लगातार निक्षेपकर्तालाई भारी रकम भुक्तानी दिनु नै मान्न सकिन्छ । यी कुराहरुलाई नियन्त्रण गर्न नसक्दा प्रायः सहकारी संस्थाहरु डुब्ने गर्दछन् ।अहिले देशमा नयाँ सरकार आएको छ । यिनीहरुले गर्नुपर्ने दायित्व र कर्तव्य भनेको सर्वसाधारणहरुको मर्म बुझ्नु हो तर यिनीहरु भने अक्सर भागवण्डा, आफ्नो मान्छेमा नै अल्झिराखेका हुन्छन् ।

अब भने सर्वसाधारणका समस्याका लागि पनि फुर्सद निकालौं । अहिलेको परिप्रेक्ष्यमा सरकार तथा कानुनी निकायले यस्ता रकम पचुवा सहकारी संस्थाहरुका लागि एउटा दह्रो कानुन तर्जुमा गर्नु जरुरी छ । अन्यथा सरकार, कानुन निकम्मा भनेर उपाधि दिँदा पनि केही बिग्रँदैन जस्तो लाग्छ ।

अन्त्यमा के भन्न सकिन्छ भने, सरकार तथा सम्बन्धित निकायहरुले डुबेका सहकारी संस्थाका पीडित निक्षेपकर्ताहरुको रकम दिलाइदिनुपर्छ । यसका लागि घाइते सहकारी संस्थाहरुलाई मद्दत पनि गर्नुपर्छ । त्यस्ता सहकारीको कर, जग्गा, मुद्दा आदिजस्ता समस्यालाई लिएर उनीहरुलाई मद्दत गर्नु सरकारको दायित्व तथा कर्तव्य पनि हो ।

प्रतिक्रिया दिनुहोस्