दुई घण्टा टाढाबाट गाग्रीमा पानी बोक्ने समस्याबाट मुक्ति पाउँदै शंकरपोखरीबासी 

0
Shares

पर्वत ।

लामो समयदेखि एक गाग्री पानीका लागि दुई घण्टा बिताउनुपर्ने समस्या झेल्दै आएको पर्वतको शंकपोखरीका बासिन्दाले महिना दिनपछि भने यस्तो समस्याबाट मुक्ति पाउने भएका छन् । खानेपानीको चरम अभाव झेल्दै आएको शंकरपोखरीमा बृहत लिफ्ट खानेपानी योजना निर्माण भएपछि पानीको समस्याबाट मुक्ति पाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारको  १८ करोडको लागतमा २०७५ सालबाट निर्माण शुरु गरेको भएको ‘बृहत् शंकरपोखरी खानेपानी तथा लिफ्ट आयोजना’को काम पूरा हुनै लागेको छ। २० प्रतिशत स्थानीय बासिन्दाको जनश्रमदानमा बन्दै गरेको खानेपानी आयोजनाको सबै काम माघभित्र पूरा हुने आयोजनाका अध्यक्ष शिव तिवारीले जानकारी दिनुभयो । आयोजनाबाट १ हजार १ सय ३१ वटा धारामा चौबिसै घण्टा पानी आउनेछ ।  ‘योजना सम्पन्न भएपछि पानी लिनका लागि दुई घण्टा जानुपर्ने, आकाशे पानीको भर पर्नु समस्याबाट मुक्ति मिल्नेछ।’ अध्यक्ष तिवारीले भन्नुभयो‘काकाकुलको नियतिबाट सधैँका लागि मुक्ति मिल्ने विश्वास पलाएको छ ।’

आयोजनामा लमाए खोलाको पानी लिफ्ट प्रविधिमार्फत शंकरपोखरी र थापाठानाको उच्च लिमिकोटसम्म ६ सय ४५ मिटर लामो पाइप राखेर खोलाको पानी ‘लिफ्ट’मार्फत तानिएको छ। धेरै उचाइमा पानी तान्नुपर्दा विद्युत् लाइनमा समस्या‚ पाइपमा चुहावट हुने जस्ता समस्या आउने अनुमान गरिएको भएपनि अहिले कुनै समस्या नदेखिएका कारण पानी वितरणको तयारी भएको अध्यक्ष तिवारीले बताउनुभयो ।

फलेवास नगरपालिका–२ थापाठानाको दुर्बुटी, सिम्ले, घैयार, शंकरपोखरीको साविकको ९ नं. बाहेक सबै वडामा यो पानी पुग्छ। लिफ्ट चलेसँगै विद्युत् खपत भएको छ। समितिसँग पैसा छैन। कुनै ठाउँमा १५ घरको एक धारा छ त कहीँ एक घरको एक धारा छ। पानी वितरणलाई कसरी मिलाउने, रकम उठाउने कुरा कसरी गर्ने भन्ने बारेमा भने निर्णय गर्न कठिन छ । बिद्युत महसुलका कारण लिफ्ट खानेपानी योजनाहरुमा पानीको महसुल बढी उठ्ने गर्दछ । अझै सार्वजनिक धारामा त महसुल उठाउनका लागि झनै कठिन हुने गर्दछ ।

पर्वतको फलेबास नगरपालिकाको शंकरपोखरीमा भए जस्तो पानीको समस्या अन्त शायदै होला। बिहान चारै बजे उठेर कुवा, इनारमा बस्ने गृहिणी र पानीको खोजीमा जाँदा विद्यालय जाने समय नपाएका विद्यार्थी सबैको पीडा उस्तै थियो । पानी त नपाइने शंकरपोखरीको विभिन्न टोलमा सरसफाइ र चौपायाका लागि पानीको व्यवस्थापन गर्नु निकै कठिन कुरा हो। शंकरपोखरी क्षेत्र डाँडामा रहेकाले पानीका स्रोत छैनन्। स्याङ्जाको नजिकै पर्ने डहरे देउरालीबाट पाइपमा आउने पानी बाँडिचुँडी खानुपर्ने बाध्यता छ।