‘आफ्नो प्रभाव विस्तार गर्ने होडले नव उपनिवेशबाद शुरु’



काठमाडौं।

कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले विश्व उपनिवेशबादबाट मुक्त भैसकेको भएता पनि विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने ठूला र शक्तिशाली राष्ट्रहरूको होडले नव उपनिवेशबाद शुरु भएको बताउनुभयो ।
अफ्रो–एसियाली जनएकता संगठन (आप्सो) को ६५ औं वर्षगाँठको उपलक्ष्यमा नेपाल आप्सोले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै आप्सोका संरक्षक श्रेष्ठले भन्नुभयो– ‘स्वतन्त्रता अझै पूर्ण भएको छैन । नव उपनिवेशबाद शुरु भएको छ । त्यसैले आप्सोको आवश्यक्ता र महत्व अझै बढेर गएको छ ।’
उपनिवेशबाद, रंगभेद, जातिभेद र शस्त्रीकरणको विरुद्धमा तथा स्वतन्त्रता, मानवअधिकार, विश्वशान्ति र लोकतन्त्रको प्रबद्र्धनका लागि सन् १९५८ मा आप्सोको गठन भएको हो । इजिप्टको कायरोमा प्रधान कार्यालय रहेको आप्सोको अफ्रिका, एसिया, ल्याटिन अमेरिका अदि महादेशका धेरै देशहरूमा राष्ट्रिय समितिहरू सक्रिय छन् ।

कार्यक्रममा दुई ध्रुबबाट एक हुँदै अहिले बहुध्रुबीय बन्दै गएको विश्वमा एसिया र अफ्रिकाको महत्व बढ्दै गएको धारणा राख्दै कुटनीतिज्ञ श्रेष्ठले विश्व शान्तिका लागि आप्कोले महत्वपूर्ण भूमिका निभाउनसक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल आप्सोका अध्यक्ष पूर्वमन्त्री कृपासुर शेर्पाले विश्वमा सबै खालका हातहतियार र गोलाबारुदको उत्पादन तथा बिक्रीवितरण बन्द हुनुपर्नेमा जोड दिंदै सबै राष्ट्र र त्यहाँका नागरिकले सहअस्तित्वका साथ स्वतन्त्रता र शान्तिपूर्वक बाँच्न पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्राडा श्रीधर गौतम र प्राडा गोपाल पोखरेल ‘विवश’ले आप्सोको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो भने डा. मञ्जु मिश्रले अफ्रिकी डकुमेन्ट्री प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्