लमजुङका तमु समुदायले मनाए ल्होसार



लमजुङ।

गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङका तमु जातिहरुले ल्होसार मनाएका छन् । हरेक वर्ष गुरुङ जातिले नयाँ वर्षको रुपमा तामझामका साथ मनाइने ल्होसार पर्व यसवर्ष पनि विविध कार्यक्रमहरु गरेर मनाएका हुन् ।

बर्गचक्र फेरिएसँगै गुरुङ समुदायमा नयाँ वर्षको रुपमा धूमधामसँग तमु ल्होसार पर्व मनाउने गरिन्छ । गुरुङहरुले यो वर्ष (तो ल्हो) अर्थात बाघ वर्गलाई बिदाइ गरी (हि ल्हो) अर्थात बिरालो वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । गुरुङहरुको जन्मदेखि मृत्युसम्मका सवै कर्मकाण्ड ल्हो अर्थात वर्गको महत्त्व भएकोले ल्होसारलाई ठूलो पर्वको रुपमा मनाउने गरेको तमु समुदायका अग्रजहरु बताउँछन्  ।

अध्ययन तथा कामको सिलसिलामा देश विदेशमा रहेका आफन्तहरु पनि ल्होसार मनाउन आफ्नै गाउँघर फर्कने गर्दछन् । ल्होसारको रमझममा विशेष गरी गुरुङ समुदायका युवाहरुमा विशेष उत्साह हुने गर्दछ । रोदी बस्ने, परम्परागत संस्कृतिमा रमाउने जस्ता कामहरुमा युवाहरुको बढी सक्रियता हुने गर्दछ ।

ल्होसारको अवसरमा टोलबासीहरुबीच स्योँकै आयोजना, तमु भेषभूषामा नृत्य तथा खेलकुद प्रतियोगिता हुने गरेको छ । गुरुङ समुदायमा यस पर्वलाई नयाँ बर्षका रुपमा मनाउने गरिन्छ । ‘ल्हो’ भन्नाले बर्र्ष तथा ‘छार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ ।

ल्होसारमा विशेषगरि मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । साथै राम्रो लगाउने, सेलरोटी, खिर लगायत मीठा परिकार खाने तथा नाचगान गरी रमाइलो गर्ने परम्परा छ ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग प्रतिकका रुपमा लिइन्छ । ल्होसारको अवसरमा सदरमुकाम बेसीशहर सहित जिल्लाका गुरुङ बाहुल्यता रहेका गाउँहरुमा विशेष रौनक छाएको छ । सांस्कृतिक पर्व ल्होसारका अवसरमा लमजुङका गुरुङ बस्तीहरुमा मेला महोत्सव समेत आयोजना भएका छन् ।

यसैबीच लमजुङको बेसीशहर नगरपालिकामा तमु ह्युला छोंज धीं बेसीशहर इकाईको आयोजनमा ल्होसार पर्व मनाएको छ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाललेका उपमहासचिव पृथ्वीसब्बा गुरुङको प्रमुख आतिथ्यतामा ल्होसार पर्व मनाएको छ । गुरुङ जातिले मात्र नभएर सवै जातिले आफ्नो भाषा धर्मलाई संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । पुर्खौबाट चालि आएको संस्कार संस्कृति, भाषा धर्मलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दे लैजानु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भेष बहादुर पौडेल, संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका प्रमुख गुमन सिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य लगायतले मन्तव्य राख्नु भएको थियो ।

तमु ह्युला छोंज धीं बेसीशहर इकाईका उपाध्यक्ष क्याटेन मिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुम बहादुर गुरुङले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव सुवेदार कृष्ण बहादुर घलेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्