कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा परी  झापाका पाण्डेको मृत्यु



 भद्रपुर। 

कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएपछि अहिले बिर्तामोड शोकमा डुबेको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो ।

जब बहुतले क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उनले मृत्यु आँखाअघि देखे । उनले घरमा भाइवरमा भिडियो कल गरे र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाए । आफू रहेको कोठाबाट हाम फाल्न बाहेको अर्को विकल्प नभएको उनले परिवारका सदस्यलाई सुनाएका थिए । तर, घरबाट त्यसो नगर्न र सहयोगका लागि अपिल गर्न सुझाएका थिए । त्यसपछि उनले आफ्नो करिब ९ वर्षको छोरालाई सम्झाए ।

‘मेरो आँखाको नानी । बाबु, तिमीलाई म धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु है । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीले सँधै सम्झिनु हुन्छ है बाबा । सानु, अब सुन है । मामुलाई धेरै माया गर्नु । अग्नि बुवा, लीला मामुलाई माया गर्नु ।’ उनले भिडियो कलमा छोरालाई सम्झाउँदै भनेका थिए ।

उनले गरेको भिडियो कल सार्वजनिक भएको छ । भिडियोमा बाहिरबाट धुवाँ आइरहेको स्पष्ट देख्न सकिन्छ । बोल्दा–बोल्दै उनलाई धुवाँले निकै गाह्रो बनाएको भिडियोमा देखिन्छ ।

मृत्यु आफ्नै आँखाले  देखेका उनले एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर यो संसारबाट बिदा भएका छन् । सानो छोरालाई ‘ठुलो मान्छे बन्नुपर्छ’ भन्दै सम्झाउने प्रयास उनले गरेका छन् ।उनले भनेका छन्, ‘सबै भन्दा ठूला कुरा राम्रो मान्छे बन्नुपर्छ है । कसैलाई चिट गर्नु हुँदैन । फ्रड गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा ।’

उनले आफ्ना परिवारका सदस्यलगायत आफ्ना ससुरालीपट्टिका सबैलाई सम्झेका छन् । सबैलाई माया गर्न छोरालाई सम्झाएका छन् । ‘मामाहरू, माइजूहरूलाई चित्त नदुखाइदिनु तिमीले । धेरै गर्नु भएको छ मामा–माइजूले । लमजुङ बुवा आमाले धेरै गर्नु भएको छ । तिमी ठुलो मान्छे बन्नु, ज्ञानी बन्नु ।’ उनले छोरालाई सम्झाउँदै भनेका छन् ।

भिडियोमा उनले परिस्थिति आफ्नो बसमा नरहेको पनि सङ्केत गरेका छन् । निराकारले भनेका छन्, ‘मैले जे जति गरेँ तिम्रा लागि गरेँ । धेरै कोसिस गरेँ तर सकिन । तिमीसँग बिताएका पलहरू धेरै यादगार रहनेछन् ।’

कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । सोही घटनामा निराकारको मृत्यु भएको हो ।

घटनापछि निराकारको शव लिन परिवारका सबै सदस्य काठमाडौं गएका छन् । परिवारका सदस्यहरूसँग सम्पर्क हुन सकेको छैन ।
नेपाली दूतावासले उनको शवलाई नेपाल पठाउन पहल गरिरहेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्