जापान र नेपालबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउने छु : राजदूत डा.सुबेदी 



जापान।

जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापान बीचको सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३को पूर्व अवसरमा एनआरएनए जापानले टोकियोमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राजदूत डा.सुवेदीले दुई देशबीचको सम्बन्ध उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

जापान सरकार र जापानीज नागरिकबाट नेपालको आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक विकासमा सहयोग र साहायता जुटाउनु साथै अभिवृद्धि गर्न भूमिका निर्वाह गर्ने उनले बताए । राजदूत डा.सुवेदीले नेपाल र जापान बीच रहेको जनस्तरको सम्बन्धलाई अझ घनिष्ठ र प्रगाढ बनाउन आफू निरन्तर लागिपर्ने बताएका छन् ।

उनले जापानमा रहेका १ लाख बढी नेपाली नागरिकको हकहितको सुरक्षा र कल्याण गर्न राजदूतावास पछिल्लो समय थप सक्रिय रहेकोसमेत जनाए । जापान स्थित नेपाली राजदूतावासले प्रदान गर्ने राहदानी, भिसा लगायतका सेवा प्रवाहलाई चुस्त,दुरुस्त तथा सरल बनाउने लक्ष्यका साथ आफूले काम अघि बढाएको जनाएका छन् ।

राजदूत डा. सुवेदीले दुई मुलुकबीचको मित्रता र सहकार्य मार्फत नेपालको पर्यटन, व्यापार, रोजगारी र जापानले नेपालमा गर्ने लगानी वृद्धिमा थप सहयोग पुग्ने जनाए ।

कार्यक्रमको अवसरमा गत साउनमा जापानका लागि नेपाली राजदूत नियुक्ति भएर जापान आएका डा.सुवेदीलाई एनआरएनए जापानले स्वागतसमेत गरेको थियो । एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जापानस्थित नेपाली व्यवसायी साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्