दैलेखको पादुका हंस ज्वाला मन्दिरमा ज्वाला बल्यो , दर्शनार्थीको भीड



दैलेख।

दैलेखको पञ्चकोशी क्षेत्र ज्वाला क्षेत्रको रुपमा परिचित छ । नेपालको सम्पदा सूचीमा सूचीकृत पञ्चकोशीमा अहिले पनि अनवरत रुपमा ज्वाला बलिरहेका छन् । पञ्चकोशीका पाँच तीर्थस्थलहरू पादुका, धुलेश्वर, श्रीस्थान, नाविस्थान र तल्लो डु्ंगेश्वर क्षेत्र महत्त्वपूर्ण तीर्थस्थलहरू हुन् । पाँच तीर्थस्थलहरू मध्ये सबैभन्दा ठुलो पादुका क्षेत्रको ज्वाला विगत ५ दशक देखी पादुका खोलाको सिकार भएको छ । जुन ज्वाला अहिले पनि पत्ता लाग्न सकेको छैन ।

दुल्लु नगरपालिका ९ स्थित पादुका मन्दिरको नजिकै खेतमा रहेको हंस ज्वाला मन्दिरमा भने यति वेला ज्वाला बलेको छ । पादुका खोलाको किनाराको खेतमा रहेको धेरै पुरानो जीर्ण मन्दिरमा भित्र छुट्टै आवाज आउने र त्यहाँ गए मरिन्छ भन्ने किंवदंन्तिका आधारमा कोही यति वेला सम्म मन्दिर बेवारिसे बन्दै गएको थियो । तर केही दिन अघि उक्त मन्दिरमा एक युवाले सरसफाइ गर्ने क्रममा ज्वाला पत्ता लागेको हो । दुल्लु नगरपालिका ९ का युवा उजिर नाथ योगीले विगत लामो समय देखि जीर्ण मन्दिर सरसफाइ गर्ने क्रममा उक्त ज्वाला पत्ता लागेको हो । मन्दिरभित्र जमेको पानी र माटो सफा गर्ने क्रममा तलबाट ग्याँस आएको देखेपछि आगो बाल्दा बलेको र पछि करिब २ मिटर खनेर माटो फालेपछि आगो बलेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “ पहिले देखि बेवारिसे मन्दिर हो यो, धेरै अगाडी त यहाँ ज्वाला बलिरहेको थियो रे पछि पादुका खोलाले पादुका मन्दिर सँगैको ज्वाला बगाउँदा यो पनि बगेको हुनुपर्छ , अहिले मैले यहाँ भित्र हेरेँ अनि तलबाट पानीको फोका आइरहेको देखेँ  अनि सफाइ गर्दा यति सम्म भयो ।” उहाँले थप्नुभयो “अझैँ तल खन्ने हो भने ठुलो बत्ती बल्न सक्छ तर हामीले मात्र खन्न नमिल्ने , पुरातत्त्व विभाग लगायत प्रशासनले अनुमति पनि दिनु पर्‍यो ,त्यस पछि मात्र हामीले अरू प्रयास गर्ने हो ।”

उक्त मन्दिर भित्र गोलाकार बुट्टा भरिएको फुल आकारको ढुङ्गा लगायत ज्वाला क्षेत्रका अन्य मन्दिरको ज्वाला बल्ने टुकी जस्तै पुरानो तामाको कुल्फी समेत फेला परेको छ । यति वेला मन्दिरको बाहिरी घेरामा सरसफाइ गर्ने क्रम चलेको छ भने मन्दिर पुग्नको लागि सामान्य बाटो समेत निर्माण गरिएको छ । पञ्चकोशीका अन्य मन्दिरहरूमा ठुलो ज्वाला बले पनि यस मन्दिरमा सामान्य ज्वाला बल्न सफल भएको छ । जसप्रति त्यहाँ पुग्ने स्थानीयहरू खुसी भएका छन् भने हेर्ने मानिसहरूको दिनप्रतिदिन घुइँचो लाग्न थालेको छ ।

यति वेला दैनिक दुई सय देखि तिनसय सम्म मानिसहरु उक्त ज्वाला हेर्नको लागि पुग्छन् भने पूजाआजा समेत चल्ने गरेको छ । मन्दिरको ज्वाला हेर्न पुग्नुभएका दैलेखको दुल्लु नगरपालिका ८ का शक्ति बहादुर बुढाले पनि ज्वाला बलेको देख्दा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ अन्य मन्दिरमा त ज्वाला सधैँ बलेकै छन् , यस पादुका क्षेत्रका ज्वाला विगतमा पादुका खोलकाको कारण लोप भएपनि आज धेरै वर्षपछि यस मन्दिरमा पत्ता लाग्यो म अत्यन्त खुसी छ ु , अव यसको थप खोजीनिती हुनुपर्छ , राज्यले ध्यान दिनुपर्छ लगानी गरिनुपर्छ , स्थानियबासीहरुले पनि केही सहयोग गर्नुपर्छ भने म त तयार छु , अािर्थक भौतिक र नैतिक के सहयोग गर्नुपर्छ म गर्छु ।”

पादुका क्षेत्र र ज्वालाको विषयमा यति वेला धेरैलाई जानकारी भने छैन । पादुका मन्दिरका पुजारी जीवनाथ योगी पनि आफू यो बारे आफू अनविज्ञ भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ म २०२८ साल देखि यो मन्दिरको पुजारी भएको हुँ ,यहाँको ज्वाला २०३३ साल सम्म यहाँ ज्वाला बलेको थियो ,पछि पादुका खोलामा आएको बाढीले मन्दिर भत्कायो ज्वाला लोप भयो, त्यहाँ भने कहिले पनि ज्वाला बलेको देखिएन , अहिले जुन ज्वाला बल्यो खुसीको कुरा हो , अब यहाँको समिति , वडा सरकार, पालिका सरकार लगायत राज्यले चासो दियो भने थप खोजीनिती गर्‍यो भने केही हुन्छ होला ।”

यता यति वेलाको स्थानीय सरकारले पनि उक्त मन्दिरको बारेमा चासो लिएको बताएको छ । सम्भावना बोकेको पादुका क्षेत्रमा रहेको हंस ज्वाला मन्दिरमा ज्वाला बलेको भन्दै त्यसले पादुका क्षेत्रको महत्त्व बढाएको मा आगामी दिनमा यसको संरक्षण गर्दै पर्यटकियक्षेत्रको रुपमा विकास गरिने दुल्लु नगरपालिका ९ ले जनाएको छ । उक्त ज्वाला बारे जानकारी लिन र ज्वाला हेर्न पुग्नुभएका दुल्लु नगरपालिका ९ का वडाध्यक्ष तिलक प्रसाद उपाध्यायले भन्नुभयो “ अत्यन्त सम्भावना बोकेको यो पादुका क्षेत्र हो, यो हंस ज्वाला मन्दिरमा जुन ज्वाला बल्न सफल भयो यस बारे वडाले  चिन्ता र चासो लिएको छ , अब नगर कार्यपालिकामा पनि यो बारे आवाज उठाएर यसको विकासको लागि केही सहयोग कसरी गर्न सकिन्छ त्यो तिर मेरो ध्यान जान्छ ।”

हंस ज्वाला क्षेत्र मात्र नभएर पादुका मन्दिरको लोप भएको ज्वालाको पनि खोज अनुसन्धान गरिनु आवश्यक छ । विगतको ज्वाला बल्ने मन्दिरमा अहिले पनि केही मात्रामा सम्भावना रहेको अवस्थामा आवश्यक संरक्षण र संवर्द्धन गर्दै अगाडी बढेको खण्डमा हंस ज्वाला र पादुका क्षेत्रको महिमा बढ्दै जाने र पर्यटकियक्षेत्रको रुपमा विकास गर्न सकिनेमा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्