लमजुङमा आस्था रावतको साङ्गीतिक साँझ  



लमजुङ।

लमजुङको सदरमुकाम बेसींशहरमा आस्था राउतको साङ्गीतिक साँझ हुने भएको छ । त्रिवेणी युवाक्लबको आयोजनमा साङ्गीतिक साँझ गर्ने भएको हो । तमु ल्होसारको अवसरमा यही पौष १५ गते साँझ सशुल्क साङ्गीतिक साँझ गर्ने भएको हो ।

क्लबले विगतका बर्षहरुमा पनि त्रिवेणी कप प्रतियोगितासँगै चर्चित कलाकारहरुको उपस्थितिमा सशुल्क साङ्गीतिक साँझ गर्दे आएको छ । क्लबले बेसीशहरको बरण्डा रेष्ट्रोमो चर्चित गायिका आस्था रावतको विशेष प्रस्तुतिको साथमा साङ्गीतिक साँझको आयोजन गरिएको क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय कलाकारहरु सँगसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने क्लबले जनाएको छ । साङ्गीतिक साँझका लागि सशुल्क टिकटको व्यवस्था हुने अध्यक्ष गुरुङको भनाई छ । प्रत्येक वर्ष क्लबले राष्ट्रव्यापी फुटबल प्रतियोगितासँगै ल्होसार पर्वलाई उत्साहपूर्ण र मनोरञ्जन पूर्ण बनाउनका लागि साङ्गीतिक कार्यक्रम गर्दै आएको छ ।

त्यसै गरी आगामी १२ गतेदेखि सुरु हुने सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । ३० औँ संस्करणको प्रतियोगिता सञ्चालनका लागि सहजी खेल मैदान सम्याउने, दर्शकहरुका लागि बस्ने प्याराफिट लगायतको संरचना निर्माण अन्तिम चरणमा पुगेको  क्लबका उपाध्यक्ष एवं खेल संयोजक इन्द्र रानाले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि देश विदेशबाट आर्थिक सहयोग अभियानलाई पनि तीव्रता दिएको क्लबले जनाएको छ । जिल्ला भित्रका सरकारी तथा गैरसरकारी निकाय, विभिन्न संघसँस्थासँगै देश विदेशमा रहेका शुभेच्छुकहरूबाट आर्थिक सहयोग गर्ने क्रम जारी रहेको उपाध्यक्ष रानाको भनाई छ ।

तमु ल्होसारको अवसरमा प्रत्येक वर्ष त्रिवेणी कप प्रतियोगिता हुने गर्दछ । त्रिवेणी कपलाई जिल्लामा हुने मेला महोत्सव जस्तै उत्कृष्ट पर्वको रुपमा लिने गरिएको छ । त्रिवेणी खेल मैदानबाट फुटबल खेल शुरुगरेकाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका विभिन्न क्लबहरू मार्फत राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाउने गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्