कैलाली गोली प्रकरण : ३५ तोला सुन लुटियो

व्यवसायी तर्सिए, पसलहरुमा ताला

0
Shares

धनगढी।

आइतबार बेलुका कैलालीमा गोली चल्यो। जिल्लाको अत्तरियास्थित गोदावरी नगरपालिका २ को सशस्त्र प्रहरीको क्याम्प अगाडि गोली चलेको हो। प्रहरीका अनुसार अत्तरिया र सुखडमा सुनचाँदीको पसल राखेर व्यवसाय गर्दै आउनुभएका  २८ वर्षीय विकास सुनारमाथि २ राउन्ड गोली बर्सिएको थियो।

सुनारको पसल दुई स्थानमा भएकाले उहाँ दिउँसो सुखड र राति अत्तरियामा बस्नुहुन्छ। सदाजस्तै आइतबार पनि बेलुका करिब ६ बजे पसल बन्द गरेर उहाँ सुखडबाट अत्तरियातिर लाग्नुभयो। उहाँ आफ्नो निजी प्रदेश नं. ३ ०२०११ प ७३५० नम्बरको मोटरसाइकलमा अत्तरियातर्फ आइरहनुभएको थियो।

६ बजेर करिब २० मिनेट हुँदा उहाँ गोदावरी नगरपालिका २ स्थित सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै पुग्नुभएको थियो। त्यत्तिकैमा पूर्वबाट पश्चिमतर्फ एउटा सेतो कलरको अपाचे मोटरसाइकल (नम्बर नखुलेको) मा  दुई जना अज्ञात व्यक्ति आउनुभयो। त्यसपछि उहाँहरुले सुनारमाथि गोली चलाउनुभयो।

गोली हान्नेहरुको खोजतलास भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घाइते सुनारमाथि २ गोली चलाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘घाइतेले हामीसँग २ गोली चलेको भनेर भनेका छन्। पहिलो गोली प्रहार गर्दा उनी छल्न सफल भएछन्। तर पुनः दोस्रो गोली प्रहार हुँदा उनको दायाँ पाखुरामा गोली लागेछ। दोस्रो गोलीमा उनी बाइकबाट ढलेछन्।’ पाखुरामा गोली लागेका उनको ढाँड पनि चोट लागेको पनि जोशीले बताउनुभयो।

गोलीको आवाज सुनेपछि स्थानीय र प्रहरीको टोलीहरू त्यहाँ पुगेको थियो। त्यसपछि सुनारको उद्धार गरेर उपचारका लागि धनगढी ल्याइएको थियो।

सुनारको अहिले धनगढीस्थित माया मेट्रो अस्पताल उपचार जारी छ। उहाँ खतरामुक्त रहेको भएपनि डिस्चार्ज भने नभएको प्रहरीले जनाएको छ।

सुनारमाथि गोली चलाउनेहरु राति नै फरार भएको र खोजी कार्यलाई तीव्र पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उहाँमाथि कसले र किन गोली चलाएको बारे खुल्न बाँकी रहेको छ। घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय माला खेतीका फरक फरक टिमहरू खटिएका छन्।

गोली लागेर घाइते भएका व्यवसायी सुनारले आफ्नो साथमा रहेको सुन लुटिएको पनि दाबी गर्नुभएको छ। घाइते सुनारले आफूसँग करिब ३५ तोला सुन (तयार सुनका गहना) रहेको र उक्त सुन तिनै बन्दुकधारीले लुटेर भागेको दाबी गर्नुभएको हो। प्रहरीसमक्ष सुनारले आफूलाई लुटपाट तथा ज्यान मार्ने किसिमले नै आक्रमण भएको बताएको कैलाली प्रहरीका प्रवक्ता डिएसपी जोशीले बताउनुभयो।

यता, प्रहरीले भने लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यामेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेका सुनारलाई गोली चलाउनेहरुले (सुखड) पसलबाटै पिछा गर्दै आएको खुलेको बताएको छ। घटनामा सुनारकै साथी तथा निकटस्थहरु संलग्न रहेको प्रहरीको आशंका छ। त्यहीँअनुसार प्रहरीले मसिनो रुपमा अनुसन्धान गरिरहेको छ।

व्यवसायी तर्सिए, पसलहरुमा ताला

गोली प्रकरणपछि कैलालीको अत्तरिया क्षेत्रका व्यवसायीहरू त्रसित बन्नुभएको छ। उहाँहरुले दिनदहाडै व्यापारीमाथि गोली चलाइएको विषय गम्भीर भएको भन्दै  असुरक्षित महसुस गरेको बताउनुभएको छ। यतिमात्र होइन , असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीहरूले पसल नै बन्द गर्नुभएको छ।

गोली चलेको घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरमा नल्याएसम्म व्यवसायीहरू सुरक्षित नहुने सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताउनुभयो। उहाँले उक्त घटनापछि अरु व्यवसायीहरू पनि असुरक्षित रहेको दाबी गर्नुभयो।

यस्तै विभिन्न व्यवसायी संघ तथा संगठनहरुले पनि घटनाका दोषीलाई शीघ्र नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कायम गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ।