काभ्रेमा विपद्जन्य अनुदान सम्बन्धी अभिमुखीकरण

0
Shares

काभ्रे।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र स्थानीय आपत्कालीन सञ्चालन केन्द्रको समन्वय बैठक तथा विपद्जन्य पुन:निर्माण तथा पुनर्स्थापना अनुदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका १३ वटा पालिकाका सरोकारवाला व्यक्तिहरू सहभागी भएका थिए ।

स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरू समेत सहभागी रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई प्रभावकारी र क्रियाशील बनाउनु पर्ने बताउनु भयो । ‘स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्र जबसम्म प्रभावकारी र सक्रिय हुन सक्दैन तबसम्म विपद्जन्य घटनामा पीडित भएकाहरूले अनुदान पाउन सक्दैनन्’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘मनसुनजन्य, आगलागीजन्य विपद्, निजी आवास पुनर्निर्माण र पुनर्स्थापना अनुदानमा प्राविधिक, आर्थिक र भौतिक सहयोगका लागि स्थानीय सञ्चालन केन्द्र प्रमुख जिम्मेवार हो ।’ स्थानीय सञ्चालन केन्द्रबाट सिफारिस नहुँदासम्म राहत तथा अनुदान उपलब्ध नहुने उहाँले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले प्राविधिहरुले कार्यविधिमा रहेको निर्देशनलाई अक्षरस पालना गर्न र विपद्जन्य घटनामा नागरिकहरुलाई पुनर्स्थापना तथा पुनर्निमाणमा सहज बनाउन अनुरोध गर्नु भयो । प्राविधिकहरुको पूर्ण विवरण विना स्थानीय तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले अनुदान उपलब्ध गराउन नसक्ने भएकाले सत्य तथ्य र जिम्मेवारपूर्ण भएर नागरिकहरुको सेवा गर्न तोकिएको कार्यविधिलाई पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले अनुरोध गर्नु भयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँले उक्त कार्यक्रममा सहजीकरण गरेको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा फरक फरक खालका विपद् भइरहेकाले त्यसको रोकथाम र विपद् पछिको उद्धारका लागि आवश्यक योजना सहितको तयारी गरिएको छ । सडक दुर्घटना, बाढी तथा पहिरो, चट्याङ्ग, आगलागी लगायतका घटना भइरहेको तथ्याङ्कले देखाएको छ ।

विपद् व्यवस्थापन तथा आपतकालिन केन्द्र संचालनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको युनिट क्रियाशील रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

विपद्मा परेकाहरूलाई अस्थायी आवास निर्माणका लागि स्थानीय आपत्कालीन सञ्चालन केन्द्रको निर्णय अनुसार ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने व्यवस्था छ भने घडेरी समेत नभएकालाई ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था छ । बेपत्ता भएकाहरूले मृत्यु भएका सरह राहत उपलब्ध गराउने व्यवस्था छ । जिल्लामा हुने विपद् सम्बन्धी सूचना दैनिक संकलन गरी केन्द्रीय आपत्कालीन केन्द्रमा पठाउने गरिएको छ ।