लमजुङमा १५ उम्मेदवारको धरौटी जफत 



लमजुङ।

लमजुङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका मध्ये १५ जनाको धरौटी जफत भएको छ । गत मंसिर चार गते सम्पन्न निर्वाचनमा उम्मेदवार भई निर्धारित मत प्राप्त गर्न नसकेका १५ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभा सदस्य पदमा ११ जनाको उम्मेदवारी कायम थियो । जसमध्ये कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि आठ जनाको धरौटी जफत भएको हो ।

धरौटी जफत हुनेहरुमा स्वतन्त्र उम्मेदवार चन्दन बस्याल, आमूल परिवर्तन मसिह पार्टीका नन्दजंङ गुरुङ, मंगोल नेशनल अर्गनाईजेशनका विकास गुरुङ, राप्रपा नेपालका टकबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र प्रसाद प्रजापति, राप्रपाका बालचन्द्र श्रेष्ठ रहेका छन् । सो बाहेक निर्धारित समय कटिसकेपछि उम्मेदवारी फिर्ता गरेको घोषणा गरे पनि उम्मेदवार कायम रहेका नेपाली काँग्रेस बिपीका लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरुङको पनि धरौटी जफत भएको छ ।

प्रतिनिधि सभातर्फ जिल्लामा ८० हजार एक सय ९२ मत खसेको थियो । उम्मेदवारी मनोनयनका बेला बुझाएको धरौटी फिर्ता हुन निर्वाचन कार्यविधि अनुसार कम्तीमा आठ हजार १९ मत प्राप्त गर्नुपर्ने हुन्छ । तर आठ जना उम्मेदवारहरुको भने आठ हजार भन्दा निकै कम मत आएको थियो ।
प्रदेश सभातर्फ सात जनाको धरौटी जफत भएको छ । दुई निर्वाचन क्षेत्र रहेको प्रदेश सभा तर्फ ११ जनाको उम्मेदवारी रहेको थियो । जसमध्ये सात जनाको कुल खसेको मतको १० प्रतिशत मत नआएपछि धरौटी जफत भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र १ मा कुल पाँच जनाको उम्मेदवारी कायम भएकोमा न्यूनतम मत प्राप्त गर्न नसकेपछि तीन जनाको धरौटी जफत भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र १ मा ३८ हजार तीन सय ८४ मत खसेको थियो । सदर मतको १० प्रतिशत अर्थात् तीन हजार आठ सय ३८ मत प्राप्त नभएका प्रदेश सभा १ तर्फ जनता समाजवादी पार्टीका उम्मेदवार सरस्वती गुरुङ, मंगोल नेशनल अर्गनाईजेशनका बृखबहादुर तामाङ र राप्रपाकी उम्मेदवार अप्सरा शाहको धरौटी जफत भएको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फ जनता समाजवादी पार्टीका युवराज दुरा, मंगोल नेशनल अर्गनाईजेशनका राजु गुरुङ, राप्रपाका तत्बहादुर गुरुङ र नेपाली काँग्रेस बिपीका नवराज बसौला गरी चार जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र २ मा ४१ हजार आठ सय ५७ मत खसेको थियो  ।

 

प्रतिक्रिया दिनुहोस्