रुस र बोस्नियाबीचको खेल स्थगित



लन्डन, (एजेन्सी) ।

रुस र बोस्नियाबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल म्याच स्थगित गरिएको छ । रुस र बोस्नियाबीचको खेल कतार विश्वकप शुरु हुनुभन्दा एक दिन अगाडि नोभेम्बर १९ मा सेन्ट पिटर्सबर्गमा हुने तय थियो । तर, बोस्निया फुटबलले एक विज्ञप्ति निकाल्दै खेल स्थगित भएको जनाएको छ ।

व्यापक आलोचनापछि रुसमा तय भएको मैत्रीपूर्ण खेल स्थगित गरिएको हो । बोस्नियाका कप्तान एडिन जेको र मिडफिल्डर मिरालेम पजानिकले उक्त खेलबारे आपत्ति जनाएका थिए । बोस्निया विश्वकपका लागि छनोट हुन सकेको छैन । रुसलाई भने युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ ।

इरानलाई प्रतिबन्ध लगाउन माग

युक्रेनको फुटबल एसोसिएसनले इरानलाई कतार विश्वकप फुटबलमा प्रतिबन्ध लगाउनुपर्ने बताएको छ । युक्रेनले मानवअधिकार उल्लङ्घन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनु पर्ने बताएको छ । इरानलाई विश्वकपमा प्रतिबन्ध गर्नका लागि युक्रेन फुटबलले फिफालाई आग्रह गर्ने योजना बनाएको जनाएको छ ।

युक्रेनविरुद्ध रुसको सैन्य आक्रमणमा इरानको सम्भावित हात रहेको युक्रेन फुटबलले जनाएको छ । युक्रेन फुटबलको कार्यकारी बैठकले विश्वकपमा इरानलाई बहिस्कारका लागि फिफालाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्