पोग्बाले विश्वकपमा खेल्न नसक्ने



लन्डन, (एजेन्सी) । 

फ्रान्सेली स्टार पाउल पोग्बाले कतारमा हुन लागेको आसन्न फिफा विश्वकप फुटबलमा खेल्न नसक्ने भएका छन् ।
घुँडाको समस्याका कारण उनले अब तीन सातापछि शुरु हुने विश्वकप गुमाउने भएका हुन् । सेप्टेम्बरको शुरुमा दाहिने घुँडाको शल्यक्रियापछि पोग्बा यसै महिना इटालियन क्लब युभेन्टससँगको प्रशिक्षणमा फर्किएका थिए । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युभेन्ट्स फर्किएपछि उनले खेलेका छैनन् र फेरि घाइते भएका छन् ।

पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिमबाहिर रहने बताएका छन् । टुरिन र पिट्सवर्गमा भएको परीक्षणले २९ वर्षीय पोग्बा विश्वकपका लागि फिट नहुने पुष्टि गरेको हो । उनको घुँडामा चोटको समस्या देखिएको छ । फ्रान्सका एनगोलो कान्टे यसअघि नै विश्वकप बाहिर रहने पक्का भईसकेको छ । पिमेन्टाले पनि मेडिकल परिक्षणपछि पोग्बालाई शल्यक्रियापछि थप विश्रामको आवश्यकता रहेको बताएका छन् ।

जुलाईमा युभेन्ट्सको प्रि–सिजन भ्रमणको क्रममा घुँडामा चोट लागेपछि शल्यक्रिया गराएका थिए । उनी दुई साताअघि म्यानचेस्टर युनाइटेडबाट इटालियन क्लबमा पुनः सामेल भएका थिए । पोग्बाले अन्तिमपटक अप्रिलमा आधिकारिक म्याच खेलेका थिए । पोग्बोले विश्वकप गुमाउने भएपछि फ्रान्सलाई अर्को ठूलो झट्का लागेको छ । फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपूर्ण सदस्य थिए ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध हुने पहिलो खेलअघि मात्र खेलाडीको छनोट टुङ्गो लाग्ने बताएका छन् । यसअघि, पोग्बाले अन्तिम छनौटमा टिममा स्थान बनाउने विश्वास गरिएको थियो । तर, पछिल्लो पटकको चोटले उनी छनोट दौडबाट लगभग बाहिरिएका छन् । प्रशिक्षक डेसच्याम्पले म्यानचेस्टर युनाईटेडबाट युभेन्ट्स आएका पोग्बा पूर्णरूपमा फिट र फर्ममा भएको अवस्थामा मात्र विश्वकपमा छनोट गर्ने बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन फ्रान्सले नोभेम्बर २२ मा अस्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यो समूह ‘डी’ मा डेनमार्क र ट्युनिसिया पनि छ । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले यसैसातामा आफ्नो टोली घोषणा गर्ने योजना बनाएको छ । सन् २०१८ को विश्वविजेता फ्रान्स आफ्नो दुई मिडफिल्डर बिना नै कतार पुग्नेछ । चेल्सीका एन्गोलो कान्टे ह्यामस्ट्रिङ चोटको शल्यक्रियापछि टिमबाट बाहिर छन् ।

लुकाकुले पनि चोट बेहोरे

फिफा विश्वकप २०२२ कतार शुरु हुने केही साता मात्र बाँकी रहेको अवस्थामा चर्चित खेलाडीहरू चोटग्रस्त हुनेक्रम बढ्न थालेको छ । चोटका कारण विश्वविजेता टोली फ्रान्सको टोलीबाट एनगोलो कांटे र पाउल पोग्बा बाहिरिंदा बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले पनि चोट बोकेका छन् ।

इटालियन क्लब इन्टर मिलानले एक विज्ञप्ति जारी गर्दै लुकाकुले ह्यामस्ट्रिङमा चोट बोकेको जनाएको छ । शनिबार सिरी ए अन्तर्गत साम्पडोरियाविरुद्ध लुकाकु खेलको अन्तिम २० मिनेट मैदान प्रवेश गरेका थिए । तर, उक्त खेल दौरान नै उनले चोट बोक्न पुगे ।

जारी सिजन चोटकै कारण लुकाकुले इन्टरको १२ खेल गुमाइसकेका छन् । २९ वर्षीय फरवार्डले विश्वकपमा बेल्जियमको आक्रमण जिम्मेवारी सम्हाल्ने आँकलन गरिएको थियो । तर प्रारम्भिक परीक्षणले उनी विश्वकपबाट बाहिर हुने सम्भावना रहेको छ ।

इन्टरले केही दिनमा पुनः उक्त चोटको अवस्था हेर्ने जानकारी दिएको छ । त्यसपछि मात्र उनको विश्वकप खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ । हाललाई भने उनी इन्टरको च्याम्पियन्स लिग खेलका लागि उपलब्ध रहने छैनन् ।

प्रतिक्रिया दिनुहोस्