कतारमा कामदारलाई बिदामा बस्न दबाब



लन्डन ।

फिफा विश्वकपको मिति नजिकएसँगै कतार सरकारले त्यहाँ रहेका आप्रवासी कामदारहरूलाई बिदामा बस्न दबाबको वातावरण सिर्जना गरेको छ ।

मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू वासस्थान खाली गर्न कतारी अधिकारीहरूले दवाब दिएको जनाएको हो । अन्तर्राष्ट्रीय सञ्चार माध्यमले विश्वकप प्रतियोगिता शुरु हुनुभन्दा चार हप्ताअघि गत बुधबार अबेर राति नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीहरूले करिब १२ वटा भवनमा पसेर खाली गर्ने लगायतका काम कारबाही अघि बढाएको उल्लेख गरेका छन् ।

कतार सरकारले भने ती भवनहरू बस्न अयोग्य भएकोले खाली गराएको जनाएको छ । उक्त अपार्टमेन्टमा बस्दै कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू सडकमा अलपत्र हुने गरी निकालिएका छन् । कतार सरकारले यस्तो कारबाही अघि बढाउन पूर्व सूचना दिइएको र सबै विस्थापितका लागि सुरक्षित र उपयुक्त आवासको विकल्पसमेत खोजिने बताएको छ । तर, कामदारहरूले भने यस्तो क्रियाकलापले आफूहरूलाई जबरजस्ती बिदामा बस्न दबाब दिएको बताएका छन् ।

यस्तो क्रियाकलापले विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दाहरुले बताएका छन् । प्रभावित क्षेत्र, मुख्यतया अल–मन्सौरा को आसपास हालका वर्षहरूमा व्यापक रूपमा पुनः विकास गरिएको छ । तीमध्ये केही विश्व कप प्रशंसकहरू त्यस जिल्लाको अपार्टमेन्टमा बस्नेछन् । कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी भारत, पाकिस्तान, बंगलादेश, नेपाल, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा कतारमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्