एक महिनामा ५३ जना फरार अपराधी पक्राउ



बुटवल।

रुपन्देही जिल्लाको सालझण्डीमा रहेको ईलाका प्रहरी कार्यालयले वितेको १ महिनामा सर्वस्वसहित जन्मकैद फैसला भएका फरार ५३ जनालाई पक्राउ गरी अदालत चलान गरेको छ ।

असोज महिनामा मात्र सर्वस्वसहित जन्मकैद भएका व्यक्तिसँगै कर्तव्य ज्यान, जिउ मास्ने बेच्ने कसुर, भ्रष्टाचार, जवर्जस्ती करणी, बन, जालसाजी, ब्राउन सुगर, सवारीज्यान लगायतका मुद्दाका ५३ जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्वयनको लागि रुपन्देही जिल्ला अदालतमा पठाईएकोे कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनु भयो ।

उनीहरुबाट जम्मा २३ वर्ष ३ महिना कैद र १,६५,०३७ (एक लाख पैँसठ्ठी हजार सैँतिस रुपैया) जरिवाना असुलउपर गरी फैसला कार्यान्वयन गरिएको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए । साउन महिनामा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट थप १० जना फरार प्रतिवादी पक्राउ गरिएको थियो । ३ देखि ९ वर्ष अघिका फरार प्रतिवादी पक्राउ परेका हुन ।

त्यस्तै जिल्ला अदालत रुपन्देहीको २०७० चैत्र ६ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा ३ वर्ष कैद सजाय र २५हजार जरिवाना भई फरार रहेका जिल्ला रुपन्देही साविक रुद्रपुर गाविस वडा नं. ५ स्थायी वतन भई हाल सैनामैना नगरपालिका वडा नं. १० वस्ने वर्ष ३६ को थमान सिं रानालाई लुकिछिपी बसेकोअवस्थामा पक्राउ गरि यही असौज ३० गते अदालत पेशगरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्