मिथिला क्षेत्रमा छठ पर्वको रौनक, तयारीमा जुटे स्थानीयवासी


काठमाडौ ।

महोत्तरीसहित मिथिला क्षेत्रमा छठ पर्वको चहलपहल बढेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।

पर्वलाई लक्षित गरी गाउँबस्ती तथा बजारमा छठका गीत गुन्जिन थालेका छन् भने नदी, पोखरी तथा जलाशयमा छठघाट निर्माण र सरसफाइ तीव्र पारिएको छ । घर, सडक तथा सार्वजनिक स्थलमा बत्ती र सजावट गर्ने काम पनि भइरहेको छ ।

छठ पूजाका लागि आवश्यक केराका घरी, उखु, अदुवा, बेसार, ज्यामिरलगायत सामग्रीको बजारमा बिक्री बढेको छ । बाँसबाट बनाइने ढकी, डलिया तथा माटाका भाँडाकुँडाको मागसमेत बढेको छ । घरघरमा ठकुवा, भुसुवालगायत परम्परागत प्रसाद बनाउने चटारो पनि सुरु भएको छ ।

मिथिलामा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गर्ने परम्परा छ ।

आस्था, निष्ठा र पवित्रताको प्रतीक मानिने छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र सहकार्यको सन्देशसमेत दिने गरेको छ । पर्वमा जातीय तथा सामुदायिक विभेद बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेव र षष्ठीदेवीको आराधना गर्ने परम्परा मिथिलाको विशेष पहिचानका रूपमा रहेको छ ।