बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घट्यो : प्रवक्ता महत



काठमाडौँ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घटेको बताउनुभएको छ । सोमबार पार्टीकार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डा महतले बढी सिट जित्न कम उम्मेदवार उठाएको बताउनुभएको हो ।

बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन उहाँले आग्रह गर्नुभयो । महतले भन्नुभयो, ‘गठबन्धन हुँदा कतिपय योग्य साथीहरू टिकटबाट वञ्चित हुनुभयो । तर लोकतान्त्र संस्थागत गर्न र संविधान बचाउन तथा त्यसको कार्यान्वयन गराउन हामी लागिपरेका छौँ । यसमा पार्टी र गठबन्धनका सबै नेताहरूको साथ सहयोग हुने आशा छ ।’ धेरै सिट जित्ने लक्ष्यलका साथ गठबन्धन गर्दा थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको उहाँको भनाइ छ ।

बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पारेर आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न समय दिइएको भन्दै उहाँले अब धेरै पर्खन र कुर्न नसकिने बताउनुभयो । गठबन्धनले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई सहज अवतरण गरेको दाबी समेत गर्नुभयो ।

कांग्रेसले अन्य दलहरुले जस्तो धेरै बोल्ने, काम नगर्ने चरित्र नअपनाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले आफ्नो विश्वासको मत दिनेमा ढुक्क रहेको बताउनुभयो । वर्तमान सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने विषयमा आम नागरिक ढुक्क हुन समेत आग्रह गर्नुभयो ।

प्रवक्ता महतले चुनावपछि कांग्रेसकै नेतृत्वको गठबन्धनको सरकार हुन आउने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्