संसद विघटन गर्नेले जिते फेरि संसदलाई प्रहार गर्न सक्छन् : गृहमन्त्री खाँण



बुटवल। 
गृहमन्त्री बालकृष्ण खाँणले पटक–पटक सांसदमाथि प्रहार गर्नेलाई फेरि संसद्मा पठाउन उचित नहुने बताउनु भएको छ । उहाँले त्यस्तालाई संसद्मा पठाउँदा मुलुकमा शान्ति खलबलिने र अस्थिरता सिर्जना हुने जिकिर गर्नु भयो ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएका काँग्रेस केन्द्रीय सदस्य खाँणले आइतबार मायादेवी गाउँपालिका–८ मा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै अब प्रतिगमन पक्षधरहरूलाई मतदाताले चिन्नुपर्ने बताउनु भयो । ‘तपाईं हामीलाई थाहा भएकै कुरा हो, जननिर्वाचित थलो संसद् जसले दुई–दुई पटक भंग गरे, अहिले उनै फेरि हामीलाई मत दिनुस् र संसद्मा पठाउनुस् भनिराखेका छन्, यस्तालाई यही बेला हो दण्डित गर्ने’, खाँणले भन्नु भयोे । उहाँले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गदै हात जोडेर हामीलाई मत दिनुस् भन्दै आउन संसद् विघटन पक्षधरलाई कुनै हिचकिचाहट छैन।

आफैले प्रहार गरेको संसद्मा फेरि पठाउनुस् भनेर मतदातामा कसरी जानसक्नुभए होला ?’ उहाँले यस्ता नेता भएको विपक्षी गठबन्धनलाई जिताएर पठाए फेरि संसद् भंग गर्नसक्ने भन्दै मतदाता सचेत हुनुपर्ने बताउनु भयो ।‘उहाँ (ओली)ले कस्ता दलसित गठबन्धन गर्नुहुन्छ, हामीलाई थाहै छ’, उहाँले भन्नु भयो, ‘राजसंस्थाको वकालत गर्नेसँग गठजोड गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । उहाँले मुलुकमा शान्ति खलबल्याउने र अस्थिरता ल्याउने मात्रै काम गर्नुभएको छ ।’ उहाँले पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक भएको तर अर्को गठबन्धन प्रतिगमनकारी भएको आरोप लगाउनु भयो ।

गृहमन्त्री खाँणले लोकतन्त्र र संविधानको रक्षा, विकास र समृद्धिका लागि वर्तमान पाँच दलीय गठबन्धन बनेको बताउँदै आउँदो निर्वाचनमा मतदाताले विवेक प्रयोग गर्नुपर्ने जिकिर गर्नु भयो । ‘यो गठबन्धन सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न र विकास गर्नका लागि बनेको हो’, उहाँले भन्नु भयो, ‘यो गठबन्धनले मुलुकलाई सही दिशामा लैजाने छ । शान्ति, राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ ।’
उहाँले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

निर्वाचनबाट जनताले आफ्नो मताधिकारको प्रयोग गरी प्रतिनिधि चुन्ने भएकाले यसलाई बिथोल्ने, हिंसा भड्काउने काम गर्न नहुने भन्दै उहाँले यस्ता कार्य रोक्न सरकार लागि परेको र केही समूह, राजनीतिक दलसँग छलफल गरिरहेको बताउनु भयो । स्थानीय निर्वाचनमा धेरै मत बदर भएको बताउँदै गृहमन्त्री खाँणले मतदाता शिक्षामा विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार योगेन्द्र चौधरी, क्षेत्र नम्बर ३ (क)का सत्ता गठबन्धनका उम्मेदवार लोसपाका सन्तोषकुमार पाण्डेय, काँग्रेस नेता तथा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवार देवीप्रसाद चौधरी र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ का इन्चार्ज तिरबहादुर रोकामगर (डार्बिन) लगायतले बोल्दै अहिलेको गठबन्धन प्रतिगमनका विरुद्ध र संविधान, लोकतन्त्र, संघीयताको रक्षा एवं स्थायित्वको लागि भएको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्