रुपन्देहीमा १५ सिटका लागि २१२ जनाको उम्मेदवारी



बुटवल ।

रुपन्देहीमा शीर्ष नेतादेखि स्वतन्त्रसम्म गरी २ सय १२ जनाले प्रतिनिधि र प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गरेका छन । प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र रहेको यहाँ ९४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । प्रदेशमा १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ सय १८ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले बताए ।

प्रतिनिधिसभामा निर्वाचन क्षेत्र न. १ नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल स्वतन्त्र र नेकपा एमालेबाट छविलाल विश्वकर्मा सहित २१ जनाको उम्मेदवारी परेको छ । भुसाललाई सत्तागठबन्धनले समर्थन गर्दै प्रतिनिधिसभामा उम्मेदवार उठाएका छैनन् ।

प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र न. १ को १ बाट सत्तागठबन्धनबाट नेपाली काँग्रेसका विश्वनाथ यादव, नेकपा एमालेको समर्थनमा राप्रपाका आशिष कुुमार चौधरी, लोसपाबाट अनिल कुमार कुर्मीसहित ११ जनाकोउम्मेदवारी दर्ता भएको छ । त्यसैगरी प्रदेशसभातर्फ १ को २ बाट सत्तागठबन्धनबाट नेपाली काँग्रेसका अब्दुल रज्जाक, नेकपा एमालेका दधिराम न्यौपाने सहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र न. २ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णुु पौडेल, सत्तागठबन्धनबाट नेकपा एकिकृत समाजवादीका राजुु गुरुङ , हाम्रो नेपाली पार्टीबाट कमल भुसालसहित १७ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी प्रदेशसभा तर्फ निर्वाचन २ को १ बाट नेकपा एमालेबाट लिला गिरी र सत्तागठबन्धनबाट नेपाली काँग्रेसका दीर्घ बहादुर केसी सहित १२ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै प्रदेशसभातर्फ २ को २ बाट सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्री, नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ सहित ११ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन क्षेत्र न. ३ मा प्रतिनिधिसभा तर्फ सत्तागठबन्धनबाट गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमालेको समर्थनमा राप्रपाका नेता दीपक बोहोरा सहित २४ जनाको मनोनयन दर्ता भएको सूचना अधिकारी पन्थीले बताए ।

प्रदेशसभा तर्फ ३ को १ बाट सत्तागठबन्धनबाट लोसपाबाट सन्तोष कुमार पाण्डे, एमालेसँगको तालमेलमा जनता समाजवादी पार्टी नेपालका महेन्द्र राय यादव सहित १२ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ ३ को २ बाट गठबन्धनबाट नेपाली काँग्रेसका रामचन्द्र ढकाल, नेकपा एमालेबाट तुल्सी चौधरी सहित १२ जनाको उम्मेदवारी परेको छ ।

मर्चवार क्षेत्रमा पर्ने निर्वाचन क्षेत्र न. ४ मा भने गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभाका २ गरि तीन वटै क्षेत्रमा काँग्रेसको उम्मेद्वारी दर्ता भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुुक्ति पार्टीका तर्फबाट सत्यदेव चौधरी, नेपाल जनता पार्टीबाट महेन्द्र नाथ सिंह राय सहित १३ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ ४ को १ मा गठबन्धनबाट नेपाली काँग्रेसका अष्टभुजा पाठक, लोकतान्त्रिक समाजवादी पार्टीका कन्यैया बानिया, जनमत पार्टीबाट जितेन्द्रनाथ शुक्ला नेकपा एमालेबाट सुनिल कुमार गिरी, सहित ६ जनाको उम्मेद्वारी परेको छ ।

यस्तै प्रदेशसभामा ४ को २ बाट सत्तागठबन्धनबाट नेपाली काँग्रेस वसिउद्धिन खाँ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहनलाल यादव, जनता समाजवादी पार्टीबाट रामअवतार यादव सहित १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन क्षेत्र न. ५ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेपाली काँग्रेसका भरत कुमार शाह, नेकपा एमालेका तर्फबाट बासुुदेव घिमिरे सहित १९ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका खिमलाल भट्टराईको मनोनयन भने अवैधानिक ठहर भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फ ५ को १ बाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद पहाडी, नेकपा एमालेबाट भूमिश्वर ढकाल, नेपाली काँग्रेसबाट विष्णु पोखरेल सहित १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी प्रदेशसभातर्फ ५ को २ बाट सत्तागठबन्धनबाट नेपाली काँग्रेसका फकरुद्धिन खाँन, नेकपा एमालेबाट रामचन्द्र यादव, जनमत पार्टीबाट चन्द्रकेश यादव, लोसपाबाट अबुल कैयम मुसलमान सहित १४ जनाको उम्मेदवारी परेको छ । आयोगका अनुसार प्रतिनिधिसभाका उम्मेदवार कमल भुसाल र बासुदेव घिमिरे विरुद्ध उजुरी परेको निर्वाचन आयोग रुपन्देहीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्