बागी फिर्ता लिन सत्ता गठबन्धनको ह्वीप



काठमाडौं।

सत्तारुढ गठबन्धनका शीर्ष नेताले गठबन्धनका उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरेका बागी उम्मेदवारी फिर्ता ह्वीप जारी गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका हुन ।

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ उनीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

शीर्ष नेताले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी पनि दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।’

उम्मेदवारलाई जवरजस्ती मनोनयन फिर्ता गर्न निर्देशन गर्नु आाचरसंहित विपरितको कार्य पर्दछ । गठबन्धन दलका शीर्ष नेताहरुले गरेको टिकट वितरणको निर्णय मन नपरेपछि देशव्यापी रुपमा गठबन्धनदलकै कार्यकर्ताहरुले बागी उम्मेदवारी तर्दा गराएका छन् ।

यसैबीच काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजन केसी विरुद्ध बागी हाल्नुभएकी अन्जना बिसंखेले प्रचण्डकै सल्लाहा अनुसार उम्मेदवारी हालेको बताउनुभएको छ । कांग्रेसको भागमा परेपछि ‘१० नम्बर क्षेत्रमा गठबन्धन नचाहिने’ भन्दै माओवादी स्थायी समिति सदस्य समेत रहनुभएकी बिसंखे सहित तीनजनाले बागी उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभा सदस्यमा बिसंखे आफैँले उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभा १० (क) मा माओवादी केन्द्रीय सदस्य दिलीप महर्जन र प्रदेशसभा (ख) मा माओवादी बागमती प्रदेश सदस्य गणेश कुँवरको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्