प्रतिनिधिसभाका लागि बारा ४ बाट कांग्रेस नेता इच्छाबहादुरको विद्रोह

0
Shares

काठमाडौं।
बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता समाजसेवी इच्छाबहादुर वाग्लेले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा गर्दा बारा ४ मा नेकपा एकीकृत समाजवादीलाई दिएपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कांग्रेसको बलियो संगठन भएको उक्त क्षेत्रमा मत नै नभएका पार्टीलाई खोजेर ल्याएको भन्दै गठबन्धनभित्र असन्तुष्टि देखिएको बारका कांग्रेस नेताहरुले बताएका छन् ।

गठबन्धनको तर्फबाट बारामा नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठले आधिकारिक उम्मेदवारी दिनुभएको थियो । ओखलढुंगा हुँदादेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय वाग्ले लामो समयदेखि बारामा बस्दै आउनुभएको छ । बाराबाट टिकट पाउँदा नेपाली कांग्रेसले सहज जित निकाल्ने अवस्था भएपनि पार्टीले गठबन्धनका नाममा जनमत नै नभएका व्यक्तिलाई उभ्याएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएको इच्छाबहादुर वाग्लेले बताउनुभयो ।

समाजसेवामा समेत क्रियाशिल वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवार नेकपा एसका नेता किसान श्रेष्ठलाई धक्का पुग्ने कांग्रेस नेता राजन दाहालले जानकारी दिनुभयो ।

गठबन्धनका कारण तराइमा राम्रो संगठन भएको नेपाली कांग्रेस विस्तारै खस्कदै गएको स्थानीयले बताएका छन् ।

त्यस्तै प्रतिनिधि सभामा नेपाली कांग्रेसलाई छाडेर अर्को दलको उम्मेदवार आएको भन्दै बारा ४ (क) प्रदेशसभाका लागि समाजसेवी एवं नेपाली कांग्रेसमा तीस वर्ष काम गरेकी निरु रायमाझी पनि स्वतन्त्र उम्मेदवारी उठ्नुभएको छ । कांग्रेसको नेतृत्वले पार्टीको अवस्था विचार नगरी जनमत नै नभएका दलहरुलाई क्षेत्र जिम्मा लगाएर पठाएको भन्दै त्यसको विरुद्धमा उम्मेदवारी दिएको रायमाझीको भनाइ छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका २१ हजार भन्दा बढी भोट भएपनि ३ हजार हाराहारी मत भएका किसान श्रेष्ठलाई टिकट दिएर पठाउँदा चुनाव जित्न सत्ता गठबन्धनका नेताहरुलाई सहज नभएको स्थानीय नेताहरुले बताए । स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु वाग्ले र रायमाझीका पक्षमा जनमत बढ्दै गएको उनीहरुको दावी छ ।