बलबहादुरको शालिकमा माल्यार्पण गरेर चुनावी अभियान सुरु

0
Shares

काठमाडौं ।

ओखलढुंगामा नेपाली कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारले स्वर्गीय नेता बलबहादुर राईको शालिकमा माल्यार्पण गरेर चुनावी अभियान थालेका छन् । उम्मेदवारी दर्ताका दिन समय अभावले जिल्ला आउन नसकेका कांग्रेस उम्मेदवारहरु जिल्ला आएसँगै सोमबार बिहान गठबन्धनका उम्मेदवारले पूर्वमन्त्री राईको शालिकमा माल्यार्पण गरेर चुनावी अभियान थालेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडा,प्रदेशसभा (क) का प्रदीप कुमार सुनुवार र प्रदेशसभा (ख) का बाबुराम गौतमले सामुहिक रुपमा नेता राईको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार सुरु गरेका हुन् ।

नेता राइले जिल्लाको विकासमा योगदान गरेका र जिल्लाबाट प्रतिनिधित्व गरेर राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्नुभएको थियो । स्व. राइको सम्मान शालिकमा माल्यार्पण गरेर चुनावी अभियान थालेको संघिय सांसदका उम्मेदवार रामहरि खतिवडाले बताउनुभयो ।

घरदैलो अभियानमा जानुअघि सोमबार नै गठबन्धन दलको बैठक बसेर मातहत पार्टी कमिटि तथा कार्यकर्ताहरुलाई गठबन्धनका पक्षमा एकजुट भएर लाग्न निर्देशन गर्ने निर्णय भएको उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो । मंगलबार खिजीदेम्बा गाउँपालिकाबाट चुनावी अभियान थाल्ने उहाँले जनाकारी दिनुभयो ।

ओखलढुंगामा ११ वटा दलका २५ जनाले उम्मेद्धारी मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, मंगोल नेसनल अर्गनाइजेसन पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबाट नेताहरुले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रनिनिधि प्रदेशसभा कांग्रेस–माओवादी गठबन्धन र एमाले–जसपा सहितको गठबन्धनबीच प्रतिष्पर्धा हुने भनीएपनि गठबन्धनमा आवद्ध दलहरु नेकपा एकीकृत समाजवादी,जसपा, राप्रपा लगायत दलहरुले आफ्नै उम्मेदवार उठाएका छन् । सत्ता गठबन्त्रनका उम्मेदवारहरुले यस पटक सहज जित निकाल्ने प्रतिकृया दिएका छन् ।