हेटौंडा।
लगातार विजयको माला पहिरिन तयार राजनीतिक गुरुविरुद्ध चुनावी मैदानमा उत्रिनुभएका चेलालाई एक शहीदका पिताले विजयको शुभकामना दिनुभएको छ ।
हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेशकुमार बर्तौलाले शहीद परिवारको घरमा जाने योजना बनाउनुभएको थियो । बर्तौला केही नेता र कार्यकर्ताको साथमा मकवानपुरगढी गाउँपालिका–५, काञ्चनथलीस्थित शहीद बासुदेव घिमिरेको घर पुग्नुभयो । उहाँ पुगेपछि छोराको झल्को आएको भन्दै शहीद पिता कृष्णप्रसाद घिमिरे भावुक हुनुभयो ।
दु:खसुखका कुराकानीपछि बर्तौलालाई कृष्णप्रसादले दशैंको अन्तिम दिनको टीका लगाएर मंसिर ४ गतेको चुनावमा जितको शुभकामना दिनुभयो । शुभकामना दिनेक्रममा शहीदपिता घिमिरे भक्कानिनुभयो । उहाँको अश्रुधारा निकै बेर रोकिएन । दशैं र चुनावको शुभकामनाको टीका र माला लगाएपछि बर्तौलाले आफ्नो चुनावी अभियान त्यहींबाट सुरु भएको बताउनुभयो ।
२०६२–०६३ सालको आन्दोलनको उपलब्धिले आफू उम्मेदवार बनेको र त्यही जनआन्दोलनमा आफ्ना साथी बासुदेव गुमाउनुपरेकाले शहीद परिवारमा भेटेर अभियान सुरु गरेको बर्ताैला बताउनुहुन्छ । शहीद र शहीद परिवारका कारण हालको राजनीतिक परिवर्तन भएकाले आफूले सधैं सम्झने र उनीहरुको बलिदानको कदर गर्ने बर्तौलाको कथन छ । बर्तौलाको यो पहिलो चुनाबी प्रतिस्पर्धा हो ।
राजनीतिक परिवर्तनका निम्ति छोराले ज्यान गुमाए पनि सरकारबाट निरन्तर अवहेलनामा परेको गुनासो गर्नुभएका कृष्णप्रसादले छोराकै साथीले निर्वाचन लड्न लागेको भन्दै आशीर्वाद दिनुभयो । उहाँले उम्मेदवारी दिएपछि शहीद सम्झिएर आएजस्तै गरी निर्वाचन जितेर आउन नबिर्सिन आग्रह गर्नुभयो ।
बर्तौलाले बासुदेवको योगदानलाई मर्न नदिने अठोट गर्नुभयो । बासुदेवले लडेर ल्याएको परिवर्तनकै कारण निर्वाचन लड्न जनताका छोराछोरी संसदमा पुग्न पाएको भन्दै बर्तौलाले मकवानपुरले गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकका लागि ज्यान दिएका बासुदेवलाई फोटोमा मात्र नभइ पहिचान दिने गरी काम गर्ने प्रतिवद्धता गर्नुभयो ।
शहीदको नाम मेटाएर व्यावसायिक भवन

एमालेका वागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख बर्तौलाले शहीद पिताको आशीर्वाद लिइरहँदा एमाले नेतृत्वको हेटौंडा उपमहानगरपालिकाले शहीद घिमिरेको नाममा निर्माणाधीन सभागृह भत्काएर व्यावसायिक भवन निर्माण थालेको छ ।
करोडौं सकेर पनि पूर्णरुपमा निर्माणसम्पन्न नगरिएको शहीदको नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा १३ तले बहुउद्धेश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको छ । हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इं र लामा, रसुवा, बानिया“ जेभी सञ्चालक ऋषि बानिया“बीच सम्झौतामा हस्ताक्षर गरिएको छ । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख रुपियाँ ७२ हजार रुपियाँ लागतमा जेभीले ठेक्का सकार गरेर सम्झौता गरिएको छ ।
२०६३ सालमा राप्रपा अध्यक्ष कमल थापाको पहलमा निर्माण सुरु भएको सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका शहीद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको थियो ।
पूर्वएमाले र एमालेबीच भिडन्त

बर्ताैलालाई उठाउँदा गठबन्धनले उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित विरोध खतिवडा उठाएको छ । खतिवडा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा जानुभएको हो । खतिवडालाई टक्कर दिने उम्मेदवारका रुपमा बर्तौलालाई एमालेले टिकट दिएको हो । यस अर्थमा निर्वाचन एमालेका लागि विशेष हुने देखिन्छ । किनभने, यस निर्वाचन पाँच पार्टी एकातिर र एमाले एक्लै अर्कोतिर लड्न लागेको छ ।
मकवानपुर २ विगतमा एमालेको प्रभाव भएको क्षेत्र हो । यस पटक भने पूर्व एमाले र एमालेका उम्मेदवारबीच चुनावी भिडन्त हुने देखिएको छ । खतिवडा मकवानपुर २ का बलिया उम्मेदवार हुनुहुन्छ । २०४८ पछिका चार निर्वाचनमा जितेर सांसद भइसक्नुभएका खतिवडाको यो पाँचौं चुनावी प्रतिस्पर्धा हो । यसपालि आफ्ना राजनीतिक गुरु खतिवडा र चेला बर्तौलाबीचको भिडन्त निकै रोचक हुने देखिन्छ ।
विगतमा एमालेबाट विजयी हुनुभएका खतिवडालाई यस पटक भने एमालेलाई नै हराउनुपर्ने चुनौती छ । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट विजयी हुनुभएको थियो । एमालेलाई पनि लामो समयदेखि आफ्नै पार्टीबाट चुनाव जित्दै आउनुभएका खतिवडालाई हराउने चुनौती छ । एमालेबाट बर्तौलासहित संविधानसभा सदस्य सुभासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरको नाम सिफारिस भएको थियो । एकीकृत समाजवादीबाट खतिवडाको मात्र नाम सिफारिस भएको हो ।
प्रतिनिधिसभामा ‘हेभीवेट’
आगामी निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ मा जिल्लाका ‘हेभीवेट’ नेताहरु भिड्ने छन् । यसअघिको निर्वाचनमा पटकपटक हार व्यहोर्दै आएका फरक पार्टीका नेता एउटै निर्वाचन क्षेत्रबाट एक अर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका हुन् । मकवानपुरमा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपाल अध्यक्ष कमल थापा, नेकपा (एकीकृत समाजवादी) स्थायी समिति सदस्य विरोध खतिवडा र राप्रपा केन्द्रीय सदस्य दीपक सिंहलगायत नेता हुनुहुन्छ ।
६९ जना उम्मेदवार
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार जिल्लाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि राजनीतिक दल र स्वतन्त्रबाट ६९ जनाको उम्मेदवारी परेको हो । प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।











प्रतिक्रिया