झापामा ५६ जना स्वतन्त्र उम्मेदवार, सिटौला र लिङदेनको क्षेत्रमा महिला शून्य

0
Shares

भद्रपुर।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा झापाबाट २५ वटा राजनीतिक दलले निर्वाचनमा उम्मेदवारी दिएका छन् भने ५६ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नम्बर १ बाट १३ , २ बाट १४ दल, ३ बाट १५ दल, ४ र ५ बाट १३/१३ दलले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्य तर्फ १ नं. क्षेत्र (क) बाट ६ (ख) बाट ९, २ मा (क) बाट ९ (ख) बाट ८, ३ मा (क) बाट ६ (ख) बाट ९, ४ मा (क) बाट ७ (ख) बाट ९ र ५ मा (क) बाट ८ (ख) बाट ९ वटा राजनीतिक दलले उम्मेदवारी दिएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

झापामा ५ जना प्रतिनिधिसभा सदस्यका लागि ९ महिलासहित १०१ जनाले उम्मेदवारी दिएका छन् । जसमा ५ जना महिलासहित ३३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर, ३ नं.क्षेत्रमा महिला सदस्य शून्य रहेको छ ।

प्रदेश सदस्यमा १० जना सदस्यका लागि ११ महिला सहित १०६ जनाले उम्मेदवारी दिएका छन् जसमा ३ महिला सहित २५ जनाले स्वतन्त्र उम्मेदवारी दिएको कार्यालयले जनाएको छ ।

यता प्रमुख ठूला तीन दलमा टिकट बाडफाडमा कुरा नमिल्दा बागी (स्वतन्त्र) उम्मेदवार खडा भएका छन् ।

विशेष गरी सत्तारुढ गठबन्धन दल नेपाली काँङ्ग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपामा वागी उम्मेदवार खडा भएका हुन् ।

झापा क्षेत्र नम्वर २ मा नेपाली काँङ्ग्रेसबाट कुमार भट्टराईले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्वर ३ मा डम्मबर बहादुुर गिरी र ४ बाट राप्रपाकी नेतृ खस्बू ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भट्टराई नेपाली काँङ््ग्रेसका तर्फबाट उद्योग वाणिज्य सङ्घ १ नम्वर प्रदेशमा मनोनित भएका सदस्य हुन् ।

यता गिरी नेकपा एमालेको सचिवालय सदस्य हुन् । उनी हल्दिवारी गाउँपालिकाको निर्वतमान उपाध्यक्ष समेत हुन् ।

यता राप्रपाकी प्रशिक्षण विभागकी सदस्य ओलीले राप्रपाबाट टिकट नपाएपछि झापा ४ बाट प्रतिनिधि सभाकै लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।
टिकट नपाएपछि नेकपा एमालेका हरिकुमार रानाले भने दल बदलेर उम्मेदवार बनेका हुन् । उनी नेकपा एमाले छाड्दै माओवादीको चुनाव चिन्ह्रबाट गठबन्धनदलको उम्मेदवारको रुपमा झापा क्षेत्र नम्वर २ मा प्रतिनिधि सभाकै लागि उम्मेदवार बनेका छन् ।

यसैैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् ।

प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराउने मध्ये सबै भन्दा धेरै झापा क्षेत्र नम्वर ५ मा नै रहेका छन् । त्यसमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो ।