काठमाडौं ।
काठमाडौं–१९, रामघाटमा एक भारतीय नागरिकको वीभत्स हत्या भएको खुलेको छ । हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकाताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–२, हांसवाका २५ वर्षीय राजाबाबु भनिने श्रीलाल ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार ठाकुर र मृतक केही महिनादेखि सँगै काम गर्दै आएका थिए ।
टिकाको दिन कोठा बाहिर ताल्चा लगाएको अवस्थामा भित्रबाट गन्ध आएपछि घरका अन्य मानिसहरुले प्रहरीलाई खबर गरेका थिए । त्यसक्रममा आदकको शव रगताम्ये अवस्थामा भेटिएको थियो ।
अनुसन्धानका क्रममा ठाकुरले उनको हत्या गरेर कपडाले छोपेर बाहिरबाट ताला लगाएर गएको पाइएको छ। घटनापछि फरार उनलाई खोजी गर्ने क्रममा उनलाई हालै पक्राउ गरिएको हो ।
प्रहरीले घटनास्थलमा रहेको एउटा बाकस फुटाउन खोजेको र आधा भाग बाँकी रहेको फेला पारेको थियो । त्यसको आधा भागमा नगद ४ लाख १९ हजार रुपैयाँ बरामद भएको थियो ।
प्रहरीका अनुसार आदकलाई काठ च्याप्न प्रयोग हुने ३ फुट २ इन्च लामो सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा हानेर हत्या गरिएको देखिएको छ । आरोपीलाई पक्राउ गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया