जसपाले गठबन्धनबाट बाहिरिने संकेत गरेसँगै सिट बाँडफाँटमा अन्योल थपियो



काठमाडौं,१६ असोज । वर्तमान पाँच दलीय गठबन्धन निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिने संकेत गरेकोपछि सिट बाँडफाँटमा अन्योल थपिएको छ । गठबन्धनको चौथो ठूलो शक्ति जसपाले सिट बाँडफाँटका लागि भएका दवाबमूलक गतिविधिप्रति असन्तुष्टि जनाउँदै गठबन्धन बाहिरका दलहरुसँग तालमेलको ढोका खुल्ला रहने निर्णय गरेको थिायो ।

गत साउन २० गते आसन्न निर्वाचनमा चुनावी तालेमल गर्ने औपचारिक निर्णय गर्दै सत्ता गठबन्धनले आबद्ध दलबाहेक अन्य दलसँग तालेमल नगर्ने भद्र सहमति भएपनि जसपाले अन्तिममा आएर उक्त सहमति तोडेको छ । उक्त भद्र सहमति विपरित जसपाको शनिबार बसेको बैठकले जुनसुकै दलसँग मिलेर चुनावमा जाने र आफ्नो शक्ति सुरक्षित गर्ने विकल्प खुला गरेको हो ।

कांग्रेसले धेरै सिटमा दावी गर्दा र अन्य दल व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा सिट बाँडफाँटमा समस्या देखिएको भन्दै सम्मानजनक अवस्थामा मात्रै गठबन्धनमा बस्ने निर्णय गरेको छ । गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा समस्या आएको जसपाको निष्कर्ष छ । गठबन्धनका अन्य दलहरु देशभरी प्रतिनिधिसभाका १५ सिट दिन तयार भएपनि जसपाले २५ देखि ३० सिट पाउनुपर्ने दाबी छोडेको छैन् । तर आफ्नो दावी अनुसार सिट दिन सहयात्री दलहरु तयार नभएपछि नेकपा एमालेसँग चुनावी तालमेल गर्ने रणनीति अन्तर्गत जसपाले पछिल्लो निर्णय गरेको हुनसक्ने गठबन्धन दलका नेताहरुको जिकीर छ ।

अर्कोतर्फ गत स्थानीय निर्वाचनमा कांग्रेस मधेशमा पहिलो शक्ति बनेको छ । तर जसपाले मधेश प्रदेशमा आधा भन्दा बढी सिट मागेपनि कांग्रेस सहमत हुने अवस्थामा छैन् । प्रतिनिधिसभाका धेरै सिटमा सहमति जुटाए पनि गठबन्धनका दलहरुबीच प्रदेशसभातर्फ अझै ठोस प्रगति हुन सकेको छैन् । कांग्रेसले केन्द्रमा जस्तै एकमुष्ट भागबन्डा गर्न खोजेपनि गठबन्धनका अन्य दल त्यसलाई मान्न तयार छैनन् ।

प्रदेश सरकार गठनमा आफूहरूको भूमिका बलियो होस् र सकेसम्म नेतृत्व गर्ने अवस्था बनोस् भन्ने सबै दलको चाहनाका कारण प्रदेशसभा निर्वाचन क्षेत्र बाँडफाँटमा उत्तिकै जटिल बनेको छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टी पनि उत्तिकै असन्तुष्ट देखिएको छ । सत्तागठबन्धनबाट जसपा बाहिरिए प्रतिनिधिसभा बिघटनविरुद्ध जन्मिएको वर्तमान ५ दलीय गठबन्धनको थप क्षयीकरण विस्तार हुँदै जाने खतरा छ ।

 

प्रतिक्रिया दिनुहोस्