बन्दसूचीको अन्तिम नामावली बुझाउने समय सकियो



काठमाडौं,१६ असोज । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली बुझाउने समय आइतबारबाट सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सहभागी दलहरुलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएकोमा आजबाट समानुपातिकतर्फ नामावली सच्याएर निर्वाचन आयोगमा बुझाउने समय सकिएको हो ।

उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार ४ बजेसम्म विभिन्न ३१ दलहरुले प्रतिनिधि सभातर्फ नामावली सच्याएर पेश गरेको बताउनुभयो । उहाँले आइतबारसम्म १२ वटा राजनीतिक दललाई पेश भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रतिनिधि सभातर्फ प्रदेश १ मा ३१, मधेश प्रदेश २१, बागमती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गरेका छन् । आइतबार ५ बजेसम्मका दलहरुले बन्दसूची सच्याएर पेश गरेपछि आइतबार नै निर्वाचन आयोगले सच्याएर पेश गरिएका बन्दसूचीको काम सक्ने उहाँले बताउनुभयो ।

उपन्यायाधिवक्ता वाग्लेले सोमबारबाट राजनीतिक दलले पेश गरेको बन्दसूचीमा नामावली भएको कुनै उम्मेदवारले बन्दसूचीबाट आफ्नो नामावली फिर्ता लिन चाहेमा सोमवार १ बजेसम्मको समय दिने बताउनुभयो । उहाँले सोमबार नै १ बजेदेखि ५ बजेसम्म बन्दसूची पेश भएको सम्बन्धित व्यक्तिले फिर्ता लिएको बारेमा सम्बन्धित दललाई जानकारी गराउने आयोगको कार्यसूची छ ।

५ बजेपछि फिर्ता लिएको उम्मेदवारको सट्टामा अर्को कुनै उम्मेदवार पेश गर्न दललाई पत्राचार गर्ने र यो क्रम आगामी २२ गतेसम्म जारी रहने उपन्यायाधीवक्ता वाग्लेले बताउनुभयो । २२ गते बेलुका सबै नामावली प्रकाशन गर्ने र प्रकाशित भएका नामावलीमा कसैको दावी विरोधलाई २३ गतेपछिको कार्यतालिका बनाइएको बताउनुभयो ।

उपन्यायाधिवक्ता वाग्लेले दलले पेस गरेको बन्दसूची निर्वाचन आयोगले संविधान र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिका बमोजिम परीक्षण गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले दलले नमिलाएको खण्डमा दललाई मिलाएर पठाउन पत्राचार गरिएको र समावेशी अनुसार क्लस्टर पेश गर्नुअघि पनि समानुपातिक बन्दसूचीको सम्बन्धमा राजनीतिक दललाई ट्रेनिङ आयोजना दिइएको बताउनुभयो ।

उपन्यायाधिवक्ता वाग्लेले समानुपातिकको क्लस्टर मिलाउने काम केही कठिन रहेकाले दलहरुले नामावली ल्याएपछि निर्वाचन आयोगले गलत भएको स्थानमा सच्याउन सहजीकरण गरिरहेको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्