पूर्वी नवलपरासी प्रशासनद्वारा अनुगमन तीव्र, अखाद्य बस्तु नष्ट, मासु पसलमा ताला



नवलपरासी।

दसैँ तिहार, छठ जस्ता चाडपर्व नजिकिएसँगै जिल्ला प्रसासन कार्यालय पूर्वी नवलपरासीले बजार अनुगमन कार्यलाई तीव्र पारेको छ ।
प्रमूख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा बजार निरीक्षणमा रहेको टोलीले बुधबार सदरमुकाम कावासोतीस्थित गोपाल टेडर्समा रहेका खाद्य सामाग्रीको अनुगमन गरेको थियो ।

सो अवसरमा टेडर्सले म्याद गुज्रेको भनि सम्वन्धित उद्योगमा फर्काउनका लागि राखेको खाद्य सामग्री मानव तथा पशुपक्षीका लागि पुनः प्रयोग हुन नदिन नष्ट गरेको छ ।
यसरी नष्ट गरिएका सामाग्रीहरुमा करेन्ट मसला २० कार्टुन, चाउचाउ ४० कार्टुन, मकै ३ बोरा, चामल १ बोरा र आँटा, सावुन सर्फ लगायतका सामाग्री मिसिएका सामाग्री ८१ बोरा रहेका छन् ।

जिल्ला प्रहरी, घरेलु, उद्योग बाणिज्य लगायतको निरीक्षण टोलीले कावासोती २ फलफूल चोकस्थित लक्ष्मी माछा पसलसहित अन्य २ मासु पसलमा पनि अनुगमन गरेको छ ।

कावासोती नगरपालिका पशु स्वास्थ्य चिकित्सक सहित गरिएको निरीक्षणमा माछा तथा मासु ब्यवसायीले बधस्थल तथा विक्री कक्षमा सरसफाई नभएको बताईएको छ ।

सोही क्रममा लक्ष्मी माछा पसलमा सडे गलेका ५ केजी माछा भेटिएको र नजिकैको दिपक मिट सप्लायर्समा सरसफाई नभएको देखिए पछि त्यहाँ रहेको करिब ४५ किलो मासु जफत गरी उक्त मिटसप शिल गरेको छ ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सागर खनालका अनुसार माछा तथा मासु पसलहरु दर्ता नभएको पाईएकोले अविलम्ब दर्ता गर्न ब्यवसायीहरुलाई सूचित गरिएको छ।

माछामासु ब्यवसायीहरुले बधस्थलको फोहर ब्यवस्थापन, मासु विक्री कक्षको सरसफाई, तारजाली तथा सिसा सहितको क्याविन बनाई स्वस्थ्य माछामासु विक्रीको प्रवन्ध मिलाएर मात्र आफ्नो ब्यवसाय सूचारु गर्न सक्ने खनालले बताउनु भयो ।

निरीक्षण पछि खाद्य तथा माछामासु पसलबाट जफत गरिएका अखाद्य सामाग्रीहरु कावासोती नगरपालिकाको सवारी साधनमा राखेर निर्धारित स्थलमा लगि प्रहरीको रोहवरमा तत्काल नष्ट गरिएको हो ।

यसअघि सवारी साधनमा यात्रुहरु नठगिउन, सिट क्षमतामा राखेर यातायातका साधनहरु चलाईउन भनेर प्रशासनले अनुगमन गरेको थियो ।

यसैगरी प्रगति नगरस्थित पाउरोटी उद्योगको अनुगमन गर्दै प्रशासनले म्याद नाघेको मैदा लगायत पाउरोटी बनाउन प्रयोग हुने कतिपय हानिकारक सामाग्री नष्ट गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्