असोज १९ देखि कोखे महोत्सव



स्याङ्जा ।

स्याङ्जा वालिङको पर्यटकीय स्थल सिर्सेकोट तथा कोखेको प्रवर्द्धन गर्न कोखे महोत्सव गरिने भएको छ । ग्रामीण पर्यटनलाई चिनाउन यही असोज १९ देखि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक भविराज गुरुङले वालिङमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभयो ।

यहाँबाट धेरै हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । त्यस्तै दक्षिणतर्फ होचिँदै गएका रमणीय डाँडाकाँडा एवं आँधिखोलाले बनाएका समतल फाँट नियाल्न सकिन्छ । यहाँबाट देख्न सकिने सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्तै मनमोहक हुने  गुरुङले बताउनुभयो ।

आसपासका वन जंगलमा बहुमूल्य जडीबुटी पाइने स्थानीय बासिन्दासमेत रहेका गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । धार्मिक तथा प्राकृतिक विशेषतायुक्त कोखेलाई पर्यटकीय स्थलको रुपमा स्थापित गराई आन्तरिक र बाह्य पर्यटक प्रवर्धन गर्न यस महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक गुरुङले बताउनुभयो । कोखेको पर्यटकीय महत्त्वलाई प्रवर्धन गर्न सके समग्र नगरपालिकाको आर्थिक र सामाजिक समृद्धि हासिल गर्न सकिने उहाँको दाबी छ ।

महोत्सवले वालिङको वडा नं. १२ मा रहेका सम्भावित क्षेत्रहरू कृषि, जलश्रोत, पर्यटन, जडीबुटी आदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार, प्रसार, बिक्री एवं प्रवर्धन गर्न साझा, औपचारिक एवं अल्पकालीन बजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको रहनसहनको अवलोकन गराउने, भलिबल खेल मार्फत यस क्षेत्रलाई चिनाउने उद्देश्य महोत्सवले लिएको गुरुङले बताउनुभयो । ६ दिनसम्म चल्ने महोत्सवमा १० हजार पर्यटक भित्राउने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ तथा कृषिजन्य बस्तुहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोगितात्मक प्रदर्शनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, क्लबस्तरीय खुला भलिबल प्रतियोगिता , वडाभित्रका ३८ बर्षभन्दा माथिको उमेरको लागि भेन्ट्रास भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता लगायत रहेका छन् । महोत्सवमा आउनेहरुलाई मौलिक पहिचान सहितको सोरठी, रेलीमै लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा रमाउने व्यवस्था गरिएको संयोजक गुरुङले बताउनुभयो ।

मेलामा वडा भित्रका जातजातिका विविधताको प्रदर्शन, हरेक दिन राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु विच दोहोरी गीत कार्यक्रम र अन्य प्रस्तुतिहरु रहने छन् । बाहिरबाट आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि त्यहाँ सञ्चालित सामुदायिक होमस्टेमा बस्नको लागि प्रबन्ध मिलाईएको आयोजकले जनाएको छ । यो सँगै १ लाख १ हजार राशिको प्रथम पुरस्कार, ६० हजार राशिको दोश्रो पुरस्कार, ३० हजार राशिको तेस्रो पुरस्कार तथा १५ हजार राशिको चौथो पुरस्कार सहितको भलिबल प्रतियोगिता महोत्सवको मुख्य  आकर्षणको रुपमा रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्