रुपन्देही प्रहरीद्धारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक , जुवा र चन्दा रोक्न शादाप्रहरी परिचालन



बुटवल ।

चाडपर्व लक्षित अपराध रोक्न रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अबधीभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार भैरहवामा पत्रकार भेटघाट गरी सुरक्षा रणनीति सार्वजनिक गरेको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले चाडपर्वमा हुन सक्ने विसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गरेको उल्ल्ेख छ ।

यस्तै प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दावी गरेको छ । प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली (क्युआरटि) कारवाही टिमको रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको छ । चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने रेग्मीको भनाई छ ।

चाडपर्वमा जुवालाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ ।

यस्तै राजमार्ग लक्षित गरि रातीको समयमा गस्ती बढाउने योजना रहेको एसपी रेग्मी बताउनु भयो ।

बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाईने छ । प्रहरीका विभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ ।

तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको रेग्मीले जानकारी दिनु भयो । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्