पुरातन शैलीबाट उग्रतारा मन्दिरको पुर्ननिर्माण गरिने



डडेल्धुरा।

सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठका रुपमा रहेको विश्व सम्पदा सूचीमा सूचिकृत उग्रतारा मन्दिरको पुरातन शैलीमा पुर्ननिर्माण गरिने भएको छ ।
हाल सिमेन्टजन्य सामग्रीबाट निर्माण भएको उग्रतारा मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाईएपछि पुरातत्व विभागले सिमेन्टजन्य सबै सामग्री हटाई दिगो काठ तथा बलियो ढुंगा प्रयोग गरेर पुरानै स्वरुपमा पुर्ननिर्माण गर्न थालेको हो ।

उग्रतारा मन्दिरलाई आकर्षक रुपले पुरातन शैलीमा चालु आर्थिक वर्षमै पुर्ननिर्माणको काम सम्पन्न गर्न पुरातत्व विभागले काम अघि बढाएको छ ।


उग्रतारा मन्दिर पुर्ननिर्माण परियोजनाका प्रमुख हरिप्रसाद भुषालले चालु आर्थिक बर्षभित्रै मन्दिर पुर्ननिर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो । उँहाले जिल्लास्थित सबै सरोकारवालाहरुसँग समन्वय बैठकको आयोजना गरेर उग्रतारा मन्दिरको पुर्ननिर्माण कार्य थालनीका लागि सुझाव माग गरिएको बताउनु भयो ।

उग्रतारा मन्दिरको पुर्ननिर्माण र पुरातन शैलीका संरचना निर्माण गर्न पुरातत्व विभागबाट विनियोजित रकम कार्यान्वयनका लागि सर्वपक्षीय सहमति भइसकेको र अविलम्व पुर्ननिर्माणको प्रकृया थालनी हुने उग्रतारा क्षेत्र विकास समिति डडेल्धुराका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिनुभयो ।

उग्रतारा मन्दिरको साँस्कृतिक, ऐतिहासिक, परम्परागत र पुरातन शैलीमा पूजाअर्चना गर्ने परम्परा र स्थानीयको आस्था र भावनालाई यथोचित रुपमा सम्बोधन गर्दै आकृति प्रकृतिलाई यथावत राखेर स्थानीय श्रोत साधनको प्रयोगमा प्राथमिकता दिँदै मन्दिरको बाहिरी भागको सबै संरचना परिबर्तन गर्ने निर्णय सर्वपक्षीय भेलाबाट भइसकेको साँकीले बताउनु भयो ।

निर्माण क्रममा निर्माणकर्ता पुरातत्व विभाग र निर्माण व्यवसायीलाई मन्दिरको आवश्यकता र परम्परानुसार संरचना निर्माण गर्न सहजीकरण तथा सहयोग र कार्यान्वयनका अबधिमा नाप नक्सा, लागत ईष्टिमेट बमोजिम काम भए नभएको जस्ता निर्माण कार्यका बिबिध पक्षमा अनुगमन तथा नियमन गर्न स्थानीय पुष्पराज भट्टको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।

उग्रतारा मन्दिर स्थानीय बासिन्दाको मात्र सरोकारको विषय नभई राष्ट्रिय एवं धार्मिक सम्पदा भएको र लाखौं भक्तजन दर्शनार्थीको आस्थाको केन्द्र भएको मन्दिर पुर्ननिर्माण कार्यलाई क्रमागत रुपमा काम अघि बढाएर पुरातात्विक मापदण्डमा निर्माण गर्दै धार्मिक पर्यटनको आकषक गन्तव्यका रुपमा विकसित तल्याइने उग्रतारा मन्दिर पुर्ननिर्माण परियोजनाले जनाएको छ । पुर्ननिर्माण कार्य सम्पन्न गरेर विश्व सम्पदा सूचीमा पुनः सूचिकृत गराउन आवश्यक पहल गरिने परियोजना प्रमुख भुषालले जानकारी दिनुभयो ।

उग्रतारा मन्दिर पुर्ननिर्माणका लागि पुरातत्व विभागबाट विनियोजित रकम रु. एक करोड बासठ्ठी लाख अन्र्तगत नापनक्सा लागत ईष्टिमेट तयार गरेर चालु आर्थिक वर्ष २०७९÷०८० भित्रै पुर्ननिर्माण कार्य सम्पन्न गर्न यथाशिघ्र टेण्डर प्रकृया थालनी गरिने विभागका प्रतिनिधि तथा परियोजना प्रमुख भुषालले जानकारी दिनुभयो ।

उग्रताराको प्राचिन मन्दिरको ठाँउमा केहि बर्ष पहिले हालको मन्दिर निर्माण गरिएको थियो । भक्तजनहरुको आर्थिक सहयोगमा निर्माण भएको उग्रतारा मन्दिर पुरातत्व विभागको परामर्शबिना निर्माण गरिएकाले विश्व सम्पदा सुँचीबाट हटाइएको पुरातत्व विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्