पनौतीको नमुना खानेपानी उपभोक्ता समिति : वार्षिक ५ करोड लिटर उपलब्ध गराउँछ



काभ्रे।

उपभोक्ताहरुद्वारा संचालित पनौती नगरपालिकाको नमुना पनौती बसपार्क खानेपानी उपभोक्ता समिति पनौती ७ द्वारा गुणस्तरीय खानेपानी तथा खानेपानीको व्यवस्थापनका लागि भएका प्रयासका साथै आगामी योजनाहरुका विषयमा समीक्षा सहितको १८ औं वार्षिक सभा सम्पन्न गरेको छ ।

सरसफाइ खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर राजेन्द्र श्रेष्ठले उपभोक्ताहरुद्वारा व्यवस्थापन गरिएको नमुना उपभोक्ता समितिले उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी उपलब्ध गराएकोमा धन्यवाद दिनु भएको थियो । मुहानदेखि उपभोक्ताको भान्सासम्म पुग्ने खानेपानी शुद्ध र गुणस्तरीय खानेपानी गुणस्तरका लागि उपभोक्ता समितिले पटक पटक परीक्षण गराई उपभोक्ताको हितका लागि काम गरेको इन्जिनियर श्रेष्ठले बताउनु भयो ।

अध्यक्ष दिलीपकुमार ताम्राकारले १८ वर्ष अघि सुरु भएको उपभोक्ता समितिले निरन्तर सेवा प्रदान गर्दा आईपरेका समस्या र उपभोक्ताहररुको हितका लागि गरिएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।४५ लाख ८७ हजार ३ सय ४८ कारोबार गरेको समितिले २ सय ८ वटा धारा वितरण गरेको छ ।

सभामा सचिव हरिप्रसाद तिमल्सिनाले सचिवको प्रतिवेदन तथा वार्षिक कार्ययोजना, कोषाध्यक्ष यज्ञप्रसाद हुमागाईँले आर्थिक प्रतिवेदन र चालु आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो ।

सह सचिव एवं श्रोत थप मर्मत उप समितिका संयोजक कमलप्रसाद सापकोटाले भइरहेको श्रोतको अवस्था र आगामी दिनमा व्यवस्थापन गर्नु पर्ने श्रोतको पहिचानका बारेमा तयार गरिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अनुगमन तथा मूल्याङ्कन उप समितिको प्रतिवेदन तेजनारायण पसक्षेंले प्र्रस्तुत गर्नु भएको थियो ।

सभामा कार्यालय सचिव राजकुमार तिमल्सिनाले समिति अन्तर्गत रहेका धाराहरुबाट  निजी धाराबाट १ हजार ३ सय ८० जनाले पानी उपभोग गरिरहेको बताउनु भयो ।

कार्यक्षेत्र भित्र बसोबास गरिरहेका घरमा भाडामा बस्ने व्यक्तिहरूको संख्या १ हजार ४ सय ९८ जनाले पानी प्रयोग गरेका छन् । सामुहिक धाराबाट ३ सय ६० जनाले पानी प्रयोग गरिरहेका छन् भने २ वटा विद्यालय, २३ वटा होटल, ५ वटा बैक, ८ वटा उद्योग, ४ वटा दुग्ध डेरी, २ वटा भैँसी फार्म, १४ वटा सहकारी संस्था, ३ वटा फर्निचर, ५ वटा मासुपसल, २ वटा र्कशप, अस्पताल तथा मेडिकल ३ वटा गरी ६ हजार ६ सय ४८ जनाले प्रत्यक्ष पानी उपभोग गरिरहेको कार्यालय सचिव राजकुमार तिमल्सिनाले बताउनु भयो ।

हरेक दिन बिहान र बेलुका दुई दुई घण्टा पानी उपलब्ध गराउँदै आएको समितिले कम पानी खपत गर्ने उपभोक्ता पृथ्वीनारायण पसक्षेलाई सम्मान गरेको छ भने उपभोक्ता समितिलाई व्यक्तिगत १ लाख रुपैयाँ सहयोग गर्ने नमोबुद्ध नगरपालिका वडा नम्बर २ का अध्यक्ष कविराज श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालयका उपसचिव रामकुमार सापकोटा, वरिष्ठ इन्जिनियर अमृत पोटे, वडा अध्यक्ष सविन ताम्राकार, कविराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सल्लाहकारहरु लक्ष्मीनारायण ताम्राकार, तुयुकाजी ताम्राकार, सुभद्रा दाहाल, सुरेश ताम्राकार, संस्थाका उपाध्यक्ष हिरालाल आचार्य लगायतले खानेपानी उपभोक्ता समितिले समुदायमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

उपभोक्ता समितिले वार्षिक ४ करोड ७८ लाख ४८ हजार ३ सय २० लिटर पानी वितरण गरेको छ । प्रति मिनेट ९२.३० लिटर पानी ट्याङ्कीमा खसाल्दै आएको समितिले विभिन्न क्षेत्रको सहयोगमा खानेपानी ट्याङ्कीको अलावा पाइप लाइन विस्तार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्