कैलालीमा भयङ्कर बाढीपहिरो, एक हजार बढी घर डुबानमा



धनगढी।

कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन् । जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् । त्यस्तै, जिल्लाको पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिरोले प्रभावित भएका छन् ।

कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका हुन् । नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको पनि सूचना अधिकारी जोशीले बताउनुभयो ।

यता कैलारी गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ को बर्का वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेका छन् । कैलारीका पालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार कटैनी नदीमा आएको बाढीले वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँमा डुबान भएको हो । अहिले जनप्रतिनिधि, सशस्त्र प्रहरी, स्थानीय लगायतले पीडितको उद्धार गरिरहेको अध्यक्ष चौधरीले बताउनुभयो । कैलारी गाउँपालिका उहाँले आफ्नो हालसम्मकै ठूलो बाढी देखेको दाबी गर्नुभयो । गाउँपालिकास्थित वडा नं ७ पुरै र वडा नं ५ का अधिकांश घर डुबानमा परेको बताउँदै उहाँले उद्धारको कार्य जारी रहेको बताउनुभयो ।

यसैबीच कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएपनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्