पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध



धनगढी ।

अविरल वर्षाका कारण कैलालीमा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको हो ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लालाई तराईसंग जोड्ने राजमार्गसमेत रहेको भीमदत्त राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार राति करिब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि पहाडबाट तराई झर्न लागेका र तराईबाट पहाडतर्फ जान लागेका यात्रु अलपत्र बनेका छन् ।

डीएसपी) वेदप्रकाश जोशीकाअनुसार भीमदत्त राजमार्गकै अन्य ४-५ ठाउँमा पनि स–साना पहिरो गएका छ्न् । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको जानकारी दिएको छ । डडेल्धुरा दिपायल जोड्ने केआई सिंह राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको अवरुद्ध भएको हो ।

राजमार्गको रडुवा खोला र अन्य विभिन्न स्थानमा सडक अवरुद्ध भएको बताइएको छ । पहिरो सफा गर्ने काम भइरहेको र केही समयमा सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्