बुटवलमा भ्रष्टाचारविरुद्ध कार्टुनको निशाना



कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा बुटवलको सुक्खानगरस्थित होटल स्पानमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी निशाना शुरु भएको छ।

प्रदर्शनीमा करिब तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको प्रदर्शनीको शुभारम्भ गर्दै भ्रष्टाचार सामाजिक अपराध भएको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले बताए। नजिकका मान्छेलाई टेन्डर दिने गरी हुने भ्रष्टाचारले जनता आजित भएको चर्चा गर्दै उनले भने, ‘कुनै न कुनै रूपमा जनप्रतिनिधिमूलक संस्थाबाट यस्ता किसिमका हर्कत भएका छन्। यसलाई कम गर्नका लागि कलाका माध्यमबाट कार्टुनिस्टले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। तसर्थ कार्टुन प्रदर्शनीलाई अझै व्यापक ढंगले समाजका तल्लो तहसम्म लैजानु पर्दछ।’

जनसांस्कृतिक महासंघ नेपालका लुम्बिनी प्रदेश संयोजक कविराज पौडेलले क्लबले देशव्यापी रूपमा भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत गरेर देश र जनताप्रति विशिष्ट भूमिका निर्वाह गरेको सुनाए। प्रगतिशील लेखक संघ, रूपन्देहीका अध्यक्षसमेत रहेका पौडेलले दृश्य सामग्रीले मनोविज्ञानमा सीधै प्रभाव पार्ने जनाउँदै यो कार्यक्रम बुटवल आइपुगेकोमा धन्यवाद ज्ञापन गरे।

कलाकार सुमित्रा रानाले कलामार्फत सर्जकले समाजमा सचेतना जगाएको बताइन्। ‘रङ, रेखा र शब्दद्वारा कलाकारले समाजमा रहेका विकृति विसंगतिप्रति व्यंग्य गरेर सामाजिक दायित्व निर्वाह गर्न सफल भएका छन्’ उनको भनाइ थियो।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले भ्रष्टाचारविरुद्ध अभियानका रूपमा क्लबले देशका सातै प्रदेशमा कार्टुन प्रदर्शनी गरिरहेको बताए। कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सीएमआर नेपालको सहकार्यमा निसाना भ्रष्टाचारविरोधी प्रदर्शनीमा तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको खनालले जानकारी दिए। अखिल नेपाल ललितकला संघका लुम्बिनी प्रदेश संयोजक कलाकार खेमबहादुर विकले समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए।

आयोजक संस्था कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले पाठकले सधैं पत्रपत्रिकामा मात्रै कार्टुन हेर्दै आए पनि प्रदर्शनीका रूपमा कार्टुनलाई देशका सातै प्रदेशमा लगेको बताए। ‘पत्रपत्रिकामा मात्रै नभएर प्रत्यक्ष देखाउने चाहनासँगै भ्रष्टाचारको जरो समाजको तलसम्म फैलिएझै भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत सोही स्थानसम्म पु-याउने लक्ष्यका साथ क्लबले प्रदर्शनी आयोजना गरेको हो’ बासुको भनाइ थियो।

क्लबले यसअघि बागमती प्रदेशको काठमाडाैं, गण्डकी प्रदेशको पोखरा, मधेस प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको क्लबका महासचिव रवि मिश्रले जानकारी गराए। प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशवराज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाललगायतका कार्टुनिस्टका कार्टुन राखिएको छ।

प्रतिक्रिया दिनुहोस्