जापानिज इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु



हेटौंडा  ।

मकवानपुरमा जापानिज इन्सेफलाइटिस लागेका ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिका–३, बसामाडी र बकैया गाउँपालिकामा गरी ३ जनाको मृत्यु भएको हो ।

साउन र भदौमा १२ जना जापानिज इन्सेफलाइटिसका शंकास्पद बिरामी फेला परेका थिए । जसमध्ये ४ जनामा जापानिज इन्सेफलाइटिस देखापरेको थियो । जापानिज इन्सेफलाइटिस पोजेटिभ देखिएका ४ जनामध्ये ३ जनाको मृत्यु भएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बकैया गाउँपालिका वडा–७ का २ जना र हेटौंडा उपमहानगरपालिका वडा–३, बसामाडीमा १ जनाको मृत्यु भएको हो ।

लामखुट्टेको टोकाइबाट उक्त रोग लाग्ने गर्छ । जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको रोग हो । यी लामखुट्टेले संक्रमित घोडा, सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोकेपछि ती लामखुट्टेले मानिसलाई टोके जापानिज इन्सेफलाइटिस रोग सर्दछ । पशुपक्षीलाई टोकेको जीवाणुले लामखुट्टेलाई कुनै असर गर्दैन ।

यसरी मानिसलाई टोकेपछि जीवाणु (भाइरस) ले मस्तिष्कमा असर पु¥याउँछ, अनि धेरै ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । उक्त रोग लागेपछि बिरामीलाई पक्षघात हुने, अपांग हुने हुन्छ भने मृत्युसमेत हुनसक्ने सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्