प्रहरीको सुरक्षामा रहेको विन्ध्यवासिनी मन्दिरबाट दानपेटिका चोरी



पोखरा।

कृष्ण जन्माष्टमीका दिन विन्ध्यवासिनी मन्दिरबाट दान पेटिका चोरी भएको छ । रातको समयमा मन्दिरबाट दानपेटिका चोरी भएको हो ।
दानपेटिका चोरी गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जा भोटेक्याम्पका जिम्मी दोर्जेलाई पक्राउ गरेको छ ।

प्रहरीको सुरक्षामा रहेको मन्दिर परिसरबाटै उनले पटेका चोरी गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार प्रहरी रहेकै मन्दिरमा चोरी हुनु सामान्य कुरा होइन् । ‘४–५ जना प्रहरी बस्छन् । मन्दिर परिसरभित्र प्रहरीको विट नै खडा गरिएको छ तर,पनि चोरी भयो’ उनले भने । उनले पछिल्लो समय समाचार हेर्दा पोखरा असुरक्षित देखिदै आएको बताए ।प्रहरी शौचालय गएको बेलामा चोरी भएको भनिएको उनले बताए ।

३० वर्षिय दोर्जेलाई दानपेटिका सहित पक्राउ गरेको हो । तर, दानपेटिकामा कति रकम थियो भन्ने कुरा अझै खुलेको छैन् । दोर्जेलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पछिल्लो समयमा पोखरामा चोरीका घटनाक्रम बढिरहेका छन् । पोखरामा ३ हप्ताको अन्तरालमा २ पटक एटिएम मेसिन फोडिएको थियो । यस अघि साउन २ गते रातको समयमा पोखरा महानगरपालिका वडा नंं.२६ अर्घौचोकमा रहेको एन.एम.बी. बैंकको एटिएमलाई विना हात हतियार खोलेर त्यहाँ भएको नगद चोरी भएको थियो ।

पछिल्ला चोरीका घटना प्रहरीको टाउको दुखाईको विषय बनिरहेको बेला पुन: एटिएम फोडिनुले महानगरकै सुरक्षालाई चुनौति दिइरहेको छ । बैशाखदेखी आजसम्मको मितिमा पोखरामा मात्रै ४ पटक एटिएम मेसिन फोडेर रकम निकाल्ने प्रयास भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्