जुम्लाको खुल्ला आकाशमुनि प्रकाशको प्रिमियर



जुम्लालाई सुटिङ थलो बनाई सरकारी जागिर खान संघर्षरत युवाको कथा बुनिएको फिल्म प्रकाशको जुम्लामै प्रिमियर शो गरिएको छ।

यससँगै पहिलोपटक जुम्लामा फिल्मको प्रिमियर भएको छ। आगामी शुक्रबारबाट नेपालसहित विश्वका १० देशमा एकसाथ रिलिज हुने फिल्म सुटिङ गरिएको जुम्लाका नागरिकलाई नै पहिलोपटक देखाउनका लाग त्यहाँ प्रिमियर गरिएको फिल्मका निर्माता महेन्द्र अधिकारीले जानकारी गराए।

जुम्लाको पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माविको प्रांगणमा खुल्ला आकाश मुनि प्रिमियर गरिएको फिल्म ६ सय जुम्लेलीले हेरेको निर्माता अधिकारीले जानकारी गराए। प्रिमियरअघि प्रकाशको निर्माण संस्थाले त्यहाँ पत्रकार सम्मेलन आयोजना गरेको थियो। प्रिमियरमा सहभागी हुन पुगेका फिल्मका अभिनेता प्रदीप खड्का, लेखक विकास सुवेदीलगायतको टोलीलाई जुम्लावासीले झाँकीसमेत प्रदर्शन गरेर भव्य स्वागत गरेका थिए।

जुम्लाका जनता आफ्नो गाउँठाउँको कथा हेरेर दंग परे। जुम्लाका दर्शकको मायाले हामीलाई फेरि कर्णालीमा गएर फिल्म छायांकन गर्न लोभ्याएको छु निर्माता अधिकारीको भनाइ छ। प्रसादजस्तो सुपरहिट सामाजिक फिल्मका निर्देशक दिनेश राउतद्वारा निर्देशित प्रकाशमा प्रदीपका साथ रेणु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, अम्जमद प्रवेज, देवकुमार श्रेष्ठ, हेम बीसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनार, पवित्रा खड्का, लोकेन्द्र लेखक, निरज पन्थी र धनराज सुनारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्