आर्मी र ललितपुर हाइलाई उपाधि



काठमाडौं

नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा जित्दै आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । आर्मीले रोयललाई ७७–६५ ले पराजित ग¥यो । आर्मीका आयुष सिंहले १९ अंक जोडेका थिए ।
पहिलो क्वार्टरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि प¥यो । बाँकी दुई क्वार्टर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित ग-यो । आर्मीले तेश्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन ग-यो । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललिततुरले आयोजक नखिपोटलाई ३७–३५ को झीनो अन्तरले हरायो । ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन् । पहिलो क्वार्टरमा ललितपुरले ९–८ को सामान्य अग्रता लियो । दोश्रो क्वार्टरमा नखिपोटले ११–५ को अग्रता लिदै मध्यान्तरसम्म समग्रमा ५ अंकले अगाडि रह्यो ।
तेश्रो क्वार्टरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो । चौथो क्वार्टरमा नखिपोटले १०–९ को अग्रता हासिल गरे पनि समग्रमा २ अंकले उपाधि गुमायो । ललितपुरले ३० तथा नखिपोटले १५ हजार नगद पुरस्कार पाए ।

पुरुषमा आर्मीका आयुष सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरे । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्