ललितपुर -३ मा सम्पदाको परिचय समेटिएको इचिङ बोर्ड



ललितपुर ।

ललितपुर महानगरपालिका–३ वडाले वडा भित्र रहेका प्रत्येक सम्पदाको परिचय समेटिएको इचिङ बोर्ड राख्न शुरु गरेको छ ।
मंगलबार पुल्चोकस्थित अक्षयेश्वर महाविहारबाट सो कार्यको थालनी गरिएको हो । बोर्डमा रञ्जना लिपिको समेत प्रयोग गरिएको छ ।

बोर्ड राख्ने कार्यको शुरुआत गर्दै पाटन संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक सुरेश लाखेले त्यसबाट सर्वसाधारणले सरल र सहज रुपमा सम्पदाको इतिहास र महत्व थाहा पाउन सकिने बताउनुभयो । पूर्खाले बनाएको सम्पदा संरक्षण, सम्बद्र्धन गरी पर्यटकहरुको लागि आकर्षक गन्तव्यस्थल बनाउन त्यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि कार्यकारी निर्देशक लाखेको भनाई रहेको छ ।

सम्पदा चिनारी कार्यक्रम अन्तर्गत सो इचिङ बोर्ड राख्न थालिएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो । ‘ सम्पदाको अवलोकन र घुम्न आउने सर्वसाधारणलाई लक्षित गरेर यो बोर्ड राखिएको हो । सम्पदाको सामान्य इतिहास र महत्वबारे थोरै भएपनि जानकारी लिन सकूँन भन्ने वडाको चाहना हो ।’ वडाअध्यक्ष महर्जनले भन्नुभयो।

वडा कार्यालयका अनुसार वडाभित्र रहेका रक्षयेश्वर महाविहार, भूजापार्टी, रथख्यः पुखूं,क्षेत्रपाल भगवती, धोमा फलेचा, धनञ्जयेश्वर महादेव, धोविघाट हिकु हिटी, हासपोता गणेश, कविलास नासःद्यो, मण्ड फल्चा,पूच्वं ल्वहँ हिटी, समय फलेचा, वैष्णदेवी मन्दिर, बज्रयोगीनी मन्दिर, बसिद्यो र युलाख्यःमा सो बोर्ड राखिने छ ।

बोर्ड राख्नको लागि ती सम्पदाको इतिहास र विवरण अध्येयता सुरेन्द्रकुमार शाक्यले तयार गर्नुभएको हो । विभिन्न इतिहासविद्, अनुसन्धानकर्ता, शिलालेख, अभिलेख पढेर, र सम्बन्धित व्यक्तिसंग कुराकानी गरी सो विवरण तयार गरेको अध्येयता शाक्यले जानकारी दिनुभयो ।

‘ सम्पदा बारे थाहा पाएमा मात्र त्यसको संरक्षणमा मानिसको ध्यान जानेछ । ’ पुल्चोक टोल सुधार समितिका अध्यक्ष समेत रहनुभएका अध्येयता शाक्यले भन्नुभयो । यस अघि ति नै सम्पदाको विवरण समेटिएर वडाले डायरी प्रकाशित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्