५० रुपियाँ नतिरेको अभियोगमा २६ बर्षपछि पक्राउ



वीरगन्ज।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का निरञ्जन शर्मालाई पर्सा प्रहरीले वीरगन्ज बजारबाटै पक्राउ गर्यो । वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको थियो ।प्रहरीले पक्राउ गर्दा शर्मा प्रहरीसँगै भनाभनमा उत्रनु भएको थियो ।

जब प्रहरीले पक्राउ गर्नाको कारण बतायो तब उहाँ अचम्मित हुनुभयो । जतिसुकै सानो सजाय भए पनि त्यसलाई छलेर हिँड्न नसकिने रहेछ भन्नेमा संदेश पनि प्रहरीले दिन खोजेको छ । शर्मालाई २६ वर्ष अगाडि भएको एउटा घटनामा अदालतले ५० रुपियाँ जरिवाना तोकिएको मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत पर्साले २०५३ साल साउन ३२ गते सरकारवादी रहेको जुवा मुद्दामा शर्मालाई ५० रुपियाँ जरिवाना तोकेको थियो ।तर उहाँ जरिवाना नतिरी फरार रहँदै आउनु भएको थियो । ५० रुपियाँ तिर्नका लागि पनि प्रहरीले आफूलाई पक्राउ गर्नेमा उहाँ बिश्वस्त हुनुहुन्थेन । जरिवाना तोकेको २६ वर्ष वित्दासम्म वीरगन्जमै विभिन्न काम गर्दै आइरहनु भएको थियो,उहाँ । यो २६ वर्षको अन्तरमा कयौँ प्रहरी नेतृत्व फेरियो, कयौँ अदालतका न्यायाधिश फेरिए ।

यत्तिका वर्ष वित्दा पनि अदालतले गरेको त्यो फैसलाले शर्मा पक्राउ पर्नबाट उम्किन सकेनन् ।अदालतमा ५० रुपियाँ जरिवाना बुझाएर उनी आइतबार नै छुटेका छन् ।

अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्दै अदालत बुझाउने गरेको छ ।प्रहरीले आइतबार शर्मा जस्तै विभिन्न मुद्दामा फैसला भएर फरार रहेका ८ जनालाई पक्राउ गरेर अदालत बुझाएको थियो ।

किर्तो जालसाजी मुद्धामा २०६९ साल भदौ १० गते २० रुपियाँ जरिवाना तोकिएको वीरगन्ज १ की पानवा मलिन, कुटपिट मुद्धामा २०६३ मंसिर २१ गते २५० रुपियाँ जरिवाना तोकिएको सोही वार्डकै मदन पण्डित, सार्वजनिक अपराधको मुद्दामा २०७२ चैत २५ गते २ सय रुपियाँ जरिवाना तोकिएको जावेद भन्ने बट्टु मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

यस्तै लुटपाट मुद्दामा २०६७ पुस २९ गते ३ हजार ७ सय ६७ रुपियाँ जरिवाना तोकिएको वीरगञ्ज १ का पनमतीया देवी तुराहा, विदेशी विनिमय मुद्धामा २०७६ माघ ९ गते २९ हजार ९ सय ४८ रुपियाँ जरिवाना तोकिएको वीरगन्ज ६ का कामेश्वर साह कलवार, चेक अनादर मुद्दामा २०७७ चैत १९ गते ३ हजार रपियाँ जरिवाना तोकिएको वीरगञ्ज १६ का रामआशिष प्रसाद बरै र दुनियाँवादी फौजदारी मुद्दामा २०७८ मंसिर ६ गते ३ हजार रुपियाँ जरिवाना तोकिएको वीरगञ्ज ४ का कुन्दन कुमार वर्णवाललाई प्रहरीले पक्राउ गरेर अदालत बुझाएको हो ।

वडा प्रहरी कार्यालय विर्ताको फैसला कार्यान्वयन टोलीले २६ वर्ष पुरानो मुद्दाका साथै २० रुपियाँ जरिवाना तोकिएका व्यक्तिसहित ८ जनालाई नगरका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार जिल्ला अदालत पर्सामा बुझाएको थियो । फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको आठै जना विगो जरिवाना बुझाएर आइतबार नै छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्