दलित महिला जनप्रतिनिधीलाई तालिम



दाङ।

स्थानीय तहका दलित महिला जनप्रतिनिधीका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधीलाई स्थानीय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानीय चौधरीले सबै नागरिक सक्षम भए जातीय विभेद अन्त्य हुने बताउनुभयो । गरिबीकै कारण जातीय विभेद कायम रहेको बताउदै दलित समुदायका नागरिक सक्षम नबन्दा विभेद अन्त्य हुन नसकेको बताउनुभयो ।

त्यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष दुजमान भण्डारीले निर्णायक तहमा दलित समुदायको पनि प्रतिनिधित्व भएको बताउदै त्यो राम्रो पक्ष भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान उपमेयर माया आचार्यले कोटामा मात्रै सिमित नभएर प्रमुख पदमा महिला आउनुपर्ने बताउनुभयो । उहाँले महिला पनि अब नेतृत्व गर्न सक्षम रहेकाले जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्ष्यता तथा नगर उपप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण संघका जिल्ला सचिव गंगा विश्वकर्माले गर्नुभएको हो । तालिमको उद्देश्यका बारेमा संघका अध्यक्ष कराराले प्रकास पार्नुभएको हो ।

तालिमको प्रशिक्षकमा दलित अधिकारकर्मी निर्मल नेपाली र बबई गाउँ पालिकाका निवर्तमान उपाध्यक्ष साबित्रा बिश्वकर्मा रहनुभएको छ । तालिममा उपमहानगर भित्रका १९ वडाबाट २५ जनाको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्