थपियो सपना अनेक अनेक



साउन ५ गतेदेखि राजधानीको सर्वनाम थिएटरमा मञ्चन भइरहेको गीतिनाटक सपना अनेक अनेकको मञ्चन अवधि थपिएको छ। लोकप्रिय रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकको विशेष आग्रहमा थपिएको सर्वनामले जनाएको छ।

विधाको हिसाबले चार दशक लामो यात्रा तय गरेको सर्वनामको लागि गीति नाटक नयाँ प्रयोग भए पनि दर्शकको उत्साहजनक सहभागिताले ऊर्जा मिलेको मल्लले बताए। यो नाटक मञ्चनसँगै सर्वनामले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको छ। रंगकर्मी मल्लले हाउसफुल दर्शक पाइरहेको नाटक खत्रीको खण्डकाव्य आमा हुन् आमामा आधारित रहेर आप्नो परिकल्पना तथा निर्देशनमा तयार पारेका हुन्।

गीति नाटकमा राजु सिंहको संगीत तथा गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ। गीति नाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतिकलाई चित्रात्मकता दिने कोशिष गरेको निर्देशक मल्ल बताउँछन्। प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ -गूले अभिनय गरिरहेका छन्। मञ्चन अबधी थपिएसँगै नाटक बिहीबारबाहेक आगामी २८ गतेसम्म हरेक दिन मञ्चन हुने सर्वनामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्