थापाथली क्याम्पस र सीनबीच विद्युतीय सवारी साधनको विकासमा सहकार्य गर्ने सहमति



काठमाडौं ।

नेपालमा आयातीत पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरूलाई नेपालमै उत्पादित विद्युतबाट चल्ने विद्युतीय सवारी साधनमा परिवर्तन गर्न आवश्यक अनुसन्धान तथा प्रविधि विकासका लागि थापाथली ईन्स्टिच्यूट अफ ईन्जिनियरिङ, थापाथली क्याम्पस र सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) बीच सहकार्य गर्ने सहमति भएको छ ।

उक्त सम्बन्धमा शुक्रबार थापाथली क्याम्पसका क्याम्पस प्रमुख ई. जनार्दन भट्ट र सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यबीच थापाथली क्याम्पसमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा परम्परागत उर्जाबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्ने सम्बन्धमा अध्ययन अनुसन्धान परियोजनाको पहिचान र कार्यान्वयन गर्ने,अनुसन्धानका साथै प्रविधि विकासमा आपसी सहयोग आदानप्रदान गर्ने, अनुसन्धानका नतिजा तथा शैक्षिक सामग्री आदानप्रदान गर्नुका साथै सोसम्बन्धी, छोटो अवधिको कक्षा सञ्चालन, तालिम, अनुसन्धान र परामर्शलगायतका प्रवद्र्धनात्मक कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ ।

त्यस्तै अध्ययन अनुसन्धान र अनुभव आदानप्रदानका लागि दुबै संस्थाका ईन्जिनियरहरूबीच पनि आदानप्रदान गरिने समझदारीपत्रमा उल्लेख छ । त्यसैगरी समझदारीपत्रमा नगरपालिकाभित्रका फोहोरलाई उर्जामा परिणत गर्ने सम्बन्धमा पनि सम्भाव्यता अध्ययन गर्नसहकार्य गर्ने पनि समझदारीपत्रमा उल्लेखे छ ।

समझदारीपत्रमा हस्ताक्षरपछि क्याम्पस प्रमुख ई. भट्टले सीनसँगको सहकार्यले ईन्जिनियरिङका विद्यार्थीहरुलाई विद्युतीय सवारीसाधनको विकासमा आफ्नो क्षमता विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापित गरी विद्युतीय सवारी साधनमा परिणत गरी प्रभावकारी ढंगबाट चलाउन सके यसले देशकै अर्थतन्त्रमा टेवा पुर्‍याउनुका साथै विकास निर्माणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले सीनका ईन्जिनियरहरूको अनुभव, क्षमता र दक्षताको आदानप्रदानबाट थापाथली क्याम्पसबाट उत्पादन हुने भावी ईन्जिनियरहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै यो सहकार्यबाट आयातीत पेट्रोललाई विस्थापित गर्दै आफ्नै देशको उत्पादन विद्युतलाई आफ्नै देशमा खपत गरी विकासको आधारशीला खडा गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले पाईलट प्रोजेक्टको रुपमा केही विद्युतीय सवारी साधन किनिसकेको विद्युत प्राधिकरणले अब प्राधिकरणकै पुराना सवारी साधनहरूलाई विद्युतीय सवारी साधनमा परिणत गर्दै लैजाने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्युत प्राधिकरणकै पुरानो सवारी साधनहरूबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने कार्यको अध्ययन तथा अनुसन्धान शुरु गर्नुस् ।’

प्राडा जगन्नाथ श्रेष्ठले किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै ईन्जिनियरिङ अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्न थापाथली क्याम्पस र सीनबीचको यो सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

सीनका महासचिव थर्क बहादुर थापाले बढ्दो विद्युत उत्पादनको खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग एउटा राम्रो शुरुवात हुने जिकिर गर्दै आफ्नै देशमा विद्युतीय सवारी साधनको उत्पादनका लागि थापाथली क्याम्पस र सीनबीचको सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्