यौन दुर्व्यवहारमा परेकी शिक्षिका समाजबाट अपहेलित, न्यायका लागि सार्वजनिक अपिल



झापा, भद्रपुर । करिब दुई महिनाअघि विद्यालयका प्रधानाध्यापकबाट यौन दुव्र्यवहारमा परेकी शिक्षिकालाइ समाजले अपहेलना गर्दै आएको घट्ना सार्वजनिक भएको छ ।

झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरणीको माविमा कार्यरत शिक्षिका सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट महिला शिक्षक यौन दुव्र्यवहारको सिकार भएको घटना सार्वजनिक भएको थियो ।

एकल महिलासमेत रहेकी उनी सोही निहुँमा समुदायबाटै अनेक दुःख पाइरहेकी छन् । समुदायका अभिभावकहरूले विद्यालय प्रशासनलाई दबाब दिँदै शिक्षण पेसाबाट निष्कासन गर्नुपर्ने माग राख्दै विद्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

पीडामाथि पीडा थप्ने काम समाजबाट भएको भन्दै ती शिक्षिकाले अहिले न्यायका लागि सबै समक्ष सार्वजनिक रूपमै अपिल गरेकी छन् । अभिभावक चन्द्रकला अधिकारी, डिगबहादुर भट्टराईलगायत ७२ जना उनीविरुद्ध खनिएका छन् ।

उनीहरूले आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन साउन १३ गते विद्यालय व्यवस्थापन समिति र मेचीनगर–७ वडा कार्यालयलाई बुझाइसकेका छन् ।

सो निवेदन विद्यालय प्रशाशनले दर्तासमेत गरिसकेको बुझिएको छ । निवेदनमा हिंसा प्रभावित महिला शिक्षकलाई ‘चरित्रहीन’को संज्ञा दिइएको छ । निवेदनमा भनिएको छ, ‘शिक्षिकालाई स्कुलबाट बर्खास्त गरी शिक्षक–विद्यार्थीको समेत संरक्षण गरी अनुशासित र मर्यादित भई विद्यालय सञ्चालन गर्न गराउन शिक्षक–शिक्षिकाहरूलाई निर्देशन दिनु हुन सञ्चालक समितिलाई अनुरोध गर्दछौँ ।’ यदि हाम्रो निवेदन उपर कारबाही नभए हाम्रा छोराछोरी विद्यालय नपठाउने र विद्यालयमा समेत तालाबन्दी गर्ने भनी निवेदनमा उल्लेख छ ।

अरनिको माविका प्रधानाध्यापक विशाल भट्टराईले विद्यालयको अनुशासन उलंघन हुने कुनै पनि काम ती महिला शिक्षकबाट नभएको बताए । ‘प्रधानाध्यापकको जिम्मेवारी पाएको करिब २ महिना भयो,’ उनले भने, ‘अहिलेसम्म उहाँबाट कुनै गलत क्रियाकलाप विद्यालयमा देखिएको छैन । उहाँ आफ्नो काममा इमानदार र प्रतिवद्ध हुनुहुन्छ ।’

त्यस्तै, उनलाई विद्यालयबाट हटाउने कुनै योजना र निर्णय नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहालले बताए । ‘विद्यालयमा घटना घटे पनि पीडित महिला शिक्षकलाई हटाउने समितिको कुनै योजना छैन,’ अध्यक्ष दाहालले भने । ‘तर, अभिभावकहरूले नै निवेदन लिएर आएपछि समिति अप्ठ्यारोमा परेको छ । ’

यता, पीडित भने आफूलाई विद्यालयबाट हटाउने प्रयास भइरहेकाले सहयोग गर्न सम्बन्धित पक्षसँग आह्वान गरेकी छन् । विद्यालयमा निवेदन परे लगतै ती महिलाले शिक्षक महासंघ मेचीनगरमा निवेदन दिएको शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेलले बताए ।

आफ्नो जिम्मेवारी पूरा गरिरहेको शिक्षकलाई कुनै पनि हालतमा विद्यालयबाट हटाउन नपाइने उनको भनाइ छ । ‘कसैले निवेदन हालेकै भरमा शिक्षकलाई हटाउन पाइँदैन’, उनले भने, ‘त्यसमाथि उहाँ त आफैं पीडित हुनुहुन्छ । उहाँलाई सबैले संरक्षण गर्नुपर्नेमा जागिरबाटै हटाउने कुरा सोच्नु पनि गलत हुन्छ ।’

गत जेठमा विद्यालयका तत्कालीन प्रधानाध्यापक घिमिरेबाटै महिला शिक्षक यौन दुव्र्यवहारमा परेको घटना सार्वजनिक भएपछि प्रधानाध्यापकले शिक्षक पदबाटै राजीनामा दिनुपरेको थियो । चौतर्फी दबाबका कारण ती शिक्षिकाले त्यसबेला प्रधानाध्यापकविरुद्ध प्रहरीमा कुनै उजुरी पनि दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्