पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन, अत्यावश्यक सेवा समेत बन्द



बारा।

बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९/८० को नगरसभा समेत भएकाे छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपूर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाकाे सेवा अवरुद्ध भएकाे हाे ।

नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नविकरण हुन नसकेकाे नगरप्रमुख जलन्धर सिंह जैसवारद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेकाे छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेवा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।

’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने ।

नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन् ।

 

प्रतिक्रिया दिनुहोस्