एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, ३ हजारभन्दा बढी सहभागी हुँदै


काठमाडौँ ।

नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा पार्टी सङ्गठनका प्रतिनिधि सहभागी हुनेछन्।

भेलालाई व्यवस्थित र भव्य बनाउन पार्टीले तयारी तीव्र पारेको छ। च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित तयारी बैठकमा प्रतिनिधिको सहभागिता, कार्यक्रमस्थल व्यवस्थापन, प्रचारप्रसार र स्वयंसेवक परिचालनबारे छलफल गरिएको थियो।

महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनको तयारीलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए।

कार्की ब्याङ्क्वेटमा हुने भेलालाई अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।